मिर्गौला फेल भएर चिनीमाया तुलाधर वीर अस्पतालको बेडमा पल्टेकी थिइन्। उनलाई आँखाको महत्त्व थाहा थियो। त्यसैले आँखा दान गरेकी थिइन्।
चिनीमायाले आँखा दान गर्न चाहेको थाहा पाएकी तिलगंगा आँखा अस्पतालकी डा रिता गुरुङले शंखनारायण त्वयनालाई भनेकी थिइन्, ‘यो अवसर तिमीले मिस नगर है!’
मोबाइल थिएन। अन्तिम अवस्थामा पुगेकी चिनीमायाको मृत्यु कतिखेर हुने हो थाहा थिएन। त्यसैले शंखनारायण साथीहरू दिनेश र ध्रुवसँगै तीन दिन चार रात अस्पतालको रिसेप्सनमै गएर सुते। कसैको मृत्यु कुरेर बस्ने पक्कै सजिलो काम थिएन।
तीन दिनपछि चिनीमायाले देहत्याग गरिन्। शंखनारायणले डा रिताको सहयोगमा उनको आँखा झिके।
नेपाल आँखा ब्यांकले पहिलो पटक आँखा संकलन गरेको घटना यही थियो।
यो २०५१ सालको कुरा हो।
त्यतिबेला आँखाको नानी मात्र झिक्ने चलन थिएन। त्यसैले चिनीमायाको आँखाको डल्लो नै निकालिएको थियो। त्यो आँखा दुई जनालाई प्रत्यारोपण गरिएको थियो।
शंखनारायण त्वयना त्यस्ता व्यक्ति हुन्, जसले नेपालमै पहिलोपटक आँखाको कर्निया निकाल्ने काम गरेका थिए। त्वयना यसलाई जीवनकै सबैभन्दा ठूलो र संघर्षपूर्ण उपलब्धि मान्छन्।
हालसम्म आँखा ब्यांकमा झन्डै ३० हजार जनाको आँखा संकलन भएको छ। त्यसमध्ये करिब ७ हजार जनाको आँखा त्वयनाले नै झिकेका हुन्। यसरी झिकिएकामध्ये ९२ प्रतिशत आँखा प्रत्यारोपण भएको छ।
त्यसअघि त्वयनाले आँखा ब्यांकसम्बन्धी प्रविधि, प्रोसेसिङ, प्रिजर्भेसन, डिस्ट्रिब्युसनलगायत विषयमा चेक रिपब्लिक पुगेर तालिम लिए। यस्तो तालिम लिने उनी नेपालकै पहिलो व्यक्ति हुन्।
यूकेको छात्रवृत्ति छोडेर रोजेको आँखा ब्यांक
स्कुले जीवनमा त्वयनाको पढाइ तेजिलो थियो। एसएलसी दिँदा २०४० सालमा उनको स्कुलबाट दुई जनाले मात्र प्रथम श्रेणीमा पास गरे। त्यसमध्ये एक थिए त्वयना। उनले ७६ प्रतिशत अंक ल्याएका थिए।
आईएस्सीको दोस्रो वर्षमा जीवनमै पहिलो पटक उनलाई एउटा विषयमा ‘ब्याक’ लाग्यो। त्यसपछि त उनी झन् मेहनत गर्न थाले।
त्यसबेला उनका एक जना दृष्टिविहीन साथी थिए, सुरेश राजभण्डारी। सुरेशको कुराले उनको मन छुन्थ्यो। त्यहीबेलादेखि उनको दृष्टिविहीनहरूसँग नाता जोडिन थालेको हो।
विसं २०४६ सालमा पीसीएल नर्सिङमा भर्ना भएका उनी २०४८ मा गोल्ड मेडलिस्ट भए। सोही वर्षदेखि त्वयनाले पाटन अस्पतालमा ४ वर्ष नर्सको रूपमा काम गरे।
एक दिन आँखा ब्यांकको लागि कर्मचारी माग भएको विज्ञापन पत्रिकामा देखे। उनलाई ‘आँखा ब्यांक भनेको कस्तो होला’ भनेर उत्सुकता जाग्यो र फाराम भरे। डा सन्दुक रुइत लगायतले लिएको पाँच चरणको अन्तर्वार्तापछि त्वयना छनोट भए।
२०४९ भदौमा महेन्द्ररत्न क्याम्पस, ताहाचलबाट स्वास्थ्य शिक्षामा त्वयनाले स्नातक गरे। २०५२ सालमा यूकेको लिड्स युनिभर्सिटीबाट पब्लिक हेल्थमा स्नातकोत्तर गर्नको लागि छात्रवृत्तिको चिठ्ठी आएको थियो। तर, उनले जागिर रोजे।
‘चेक रिपब्लिकको आई ब्याङ्किङ टेक्नोलोजी र म्यानेजमेन्टको ट्रेनिङ मलाई मात्र दिइएको छ, यदि मैले छोडेँ भने आई ब्यांकको लागि गरेको यी सबै दुःख खेर जान्छ भन्ने लागेर यो काम छोडिनँ,’ त्वयना भन्छन्।
त्वयनाले त्रिभुवन विश्वविद्यालयबाट विसं २०५३ मा हेल्थ एजुकेसनमा र २०६७ मा अलाहबाद युनिभर्सिटीबाट पब्लिक हेल्थमा स्नातकोत्तर गरेका छन्।
सानो कामको महत्त्व
२०५१ साल भदौ १४ गतेबाट त्वयना सामान्य कर्मचारीको रूपमा आँखा ब्यांकमा भर्ना भए। त्यसको पर्सिपल्ट भदौ १६ गते आँखा ब्यांकको स्थापना भएको थियो। पूर्वाधार केही पनि थिएन। हालको तिलगंगा आँखा अस्पतालको पुरानो भवन भर्खर बन्दै थियो। जताततै गिट्टी बालुवा देखिन्थ्यो।
त्वयनाले नर्स भएर काम गर्दा शल्यक्रियाका क्रममा डाक्टरहरूलाई ठुल्ठूला उपकरण दिएर सघाउनुपर्थ्यो। तर आँखा ब्यांकमा आएपछि सानासाना सामानहरू देख्दा उनको जाँगर चल्दैनथ्यो। त्यो बेला उनलाई लाग्थ्यो, ‘आँखा नभएर त मान्छे मर्दैन, उता त कुनै समस्या पर्दा पनि मान्छेको ज्यान नै जान्थ्यो। म किन यता आएछु?’
सूक्ष्म सामानहरू देख्दा पेसा पनि सानो हो जस्तो त्वयना महसुस गर्थे।
तर पछि बिस्तारै उनले आँखा सानो भए तापनि यसको महत्त्व धेरै भएको कुरा बुझ्दै गए। आँखाबिना संसार अँध्यारो भएकाहरूलाई ज्योति दिनु ठूलो काम हो भन्ने उनी ठान्न थाले।
त्वयनाले सो समयमा आँखाको नानी फेर्नुपर्ने मानिसहरूको प्रतीक्षा सूची बनाउँथे। अलि पछि आँखा दान गर्ने इच्छा देखाउनेहरूको इच्छापत्रहरू भराउने सूची बनाउन थाले। तर, आँखा भने प्राप्त हुन थालेको थिएन।
आर्यघाटमा नानी संकलनको सुरुवात
त्वयनाले ‘इन्डिया टुडे’मा गुजरातका एक डाक्टरले घाटमै गएर मृतकको आँखाको नानी संकलन गर्ने गरेको समाचार पढे।
उनलाई लाग्यो, ‘हामी पशुपतिनजिक छौँ। आँखा प्रत्यारोपण गराउनेको सूचीमा यत्तिका मान्छेहरू छन्। हामी पनि यो काम सुरु गर्न सक्छौँ।’
त्यसपछि उनी पशुपति आर्यघाट धाउन थाले।
एक हप्तासम्म त उनले मृतकको परिवारलाई हेर्ने मात्र गरे। के गर्ने, कसरी गर्ने भन्ने अप्ठेरो थियो। कहिलेकाहीँ हीनताबोध गर्थे, ‘यो कस्तो काममा हात हालेँ’ भनेर।
‘यति धेरै पढेलेखेको मलाई कामको कमी थिएन। तर पनि घाटमा मान्छेहरू विह्वल भएर रोएको ठाउँमा गएर आँखा देऊ भन्न आफैँ अप्ठेरो थियो,’ उनी सुनाउँछन्।
तर, यो उनको खोज थियो। पछि हट्ने सवालै थिएन।
उनले एक हप्ता कसरी कुरा गर्ने भनेर हेरे अनि दोस्रो हप्ता मृतकको परिवारलाई काउन्सेलिङ गर्न थाले। पहिलो पटक मृतक परिवारलाई मनाउन जाँदा उनी थरथर काँपिरहेका थिए। सात पटकको प्रयासपछि बल्ल एउटा परिवारले आँखा झिक्न मञ्जुरी दिएको थियो।
र, २०५२ भदौमा पहिलो पटक घाटबाट आँखा झिकेर ल्याउने व्यक्ति बने त्वयना।
आँखा ब्यांकमा सुरुको दुई वर्ष उनले एक्लै काम गरेका थिए। त्यसपछि भने अर्को एक जना साथी जोडिए।
हाल वीर अस्पताल, टिचिङ अस्पताल, पाटल अस्पताल, गंगालाल अस्पतालमा पनि आँखा दानको कार्य हुने गर्छ। त्यस्तो अस्पतालमा डाक्टरहरूले नै मृतकको परिवारसँग काउन्सेलिङ गर्ने वातावरण मिलाइदिन्छन्।
यसबारे सम्झौता पनि भएका छन्। टिचिङमा बीपी कोइराला आँखा प्रतिष्ठान छ। त्यहाँ आँखा चाहिए आँखा ब्यांकले दिन्छ र बदलामा त्यहाँ मृत्यु भएका बिरामीको आँखा निकाल्न अस्पतालले सहजकर्ताको भूमिका निर्वाह गर्छ।
त्वयनाले लास जलाउने घाटका गुरुहरू, अस्पतालका डाक्टरहरू, मिडिया लगायत सबैको साथमा मिलेर आँखा संकलनको काम गरे। अस्पतालमा नयाँ आउने सहकर्मीलाई तालिम दिने काम पनि शंखनारायणले नै गर्छन्।
र, अहिले आँखा दान गर्नेहरूको संख्या बढेको छ। यसबाट उनी खुसी छन्।

निष्काम कर्म
त्वयनाको घरमा फोन थिएन। छिमेकीहरूको फोन नम्बर उनले दिने गरेका थिए। रातविरात उनलाई कामबाट फोन आउँथ्यो। उनको त व्यक्तिगत जीवन नै थिएन, छिमेकीहरूलाई पनि बाधा पर्थ्यो।
यो समस्या आफूले फोन बोक्न थालेपछि समाधान भयो।
कतै आँखा झिक्न बोलाएको छ र गएन भने गलत सन्देश जान्छ भन्ने उनलाई लाग्थ्यो। त्यसैले टाउकोले टेकेर पनि उनी पुग्ने गर्थे।
आँखा झिक्नकै लागि त्वयना पाँचखालसम्म पुगेका छन्।
एक पटक त उनले भाइटीकाको दिन राति रक्सी खाएको बेला समेत आर्यघाट पुगेर आँखा झिके।
कहिलेकाहीँ लासलाई चितामा राखिसकेपछि पनि उनी पुग्थे। त्यस्तो समयमा चितामा नै त्वयनाले आँखा झिकेका छन्।
‘त्यसरी चितामा राखिसकेपछि तीन पटक आँखा झिकेको छु,’ उनले सुनाए।
वीर अस्पतालको मुर्दाघरबाट पनि उनले कयौँ आँखा झिके।
चाहे कफ्र्युको बेला होस् या कोभिड–१९ को समय, हरेक समय उनी आफ्नो जिम्मेवारीमा लागिरहे।
भन्छन्, ‘अरुसँग मैले सधैँ काम गरेको छु भनेर धाक लगाउँदै झुटो बोल्न सकिन्छ। तर आफ्नो आत्मासँग झुटो बोल्न सकिँदैन।’
परिणामबारे नसोची काम गरेको उनको भनाइ छ।
एक पटक चितवनमा ९ वर्षका बच्चाले पैसा नभएर आँखा फेर्न पाएनन् भन्ने समाचार आयो। त्वयनाले बच्चाको परिवारसँग सम्पर्क गरेर आँखाको नानी फेर्न मद्दत गरे। हाल ती बच्चा आँखा देख्न सक्ने भएको त्वयना बताउँछन्।
‘आँखाको नानीकै कारण कोही व्यक्ति दृष्टिविहीन नहोस् भन्ने चाहना हो। त्यही भएर आँखा संकलनका लागि सक्दो प्रयास गरेँ,’ उनले भने।
सोहीकारण दक्षिणपूर्वी एसियामा आँखा ब्यांकमार्फत कर्नियल ब्लाइन्डनेस उन्मूलनको लागि योगदान गरेबापत ताइवानबाट अवार्ड पाएका थिए त्वयनाले, सन् २०१६ मा।
त्वयनाले सुरु गरेको कामबाट नेपालमा वार्षिक १६०० जनाले दृष्टि पाउँछन्। २०६९ यता आँखा ब्यांकमा ११ जना प्राविधिक र परामर्शदाता कार्यरत छन्। जसले पशुपति, अस्पताल, मान्छेको घरमा नै गएर आँखा झिक्छन्। 
परिवारको आपत्ति र हेलाहोचो
बुबा र हजुरबाले इँटामाथि पराल ओच्छ्याइएको विद्यालयमा पहिलो पटक छाडेयता त्वयनाले जीवनमा हरेक दिन सिक्ने क्रम जारी राखेका छन्। पढाइमा उनको प्रगति देखेर उनका बुबा निकै खुसी पनि भए। तर, आफ्नो छोराले लासबाट आँखा झिक्ने काम गर्ला भन्ने उनले सोचेका पनि थिएनन्।
‘बुबाले ‘सधैँभरि मरेको मान्छे छोएर आउँछ’ भन्नुहुन्थ्यो। यस्तो मरेको मान्छेको आँखा झिक्ने काम गर्छस् भन्दै रिसाउनु पनि हुन्थ्यो,’ त्वयना सुनाउँछन्।
जतिबेलै त्वयनाको फोनको घण्टी बज्थ्यो। त्यो पनि बुबालाई पटक्कै मन पर्दैनथ्यो।
‘मलाई घाटे भन्ने मान्छेको कमी थिएन। खाना खाँदा सँगै पर्यो भने प्रशासनको हाकिमले समेत ‘घाटे नछो’ भन्ने गर्थे,’ उनले भने, ‘तर, आफ्नै बुबाले पनि कस्तो काम गरेको भन्दै गाली गर्दा सारै चित्त दुख्थ्यो।’
श्रीमती पनि उनी घर फर्कनेबित्तिकै ‘सुनपानी’ छर्किएर त्वयनालाई चोख्याउने गर्थिन्। ‘जानू, नुहाएर आउनू’ भन्ने गर्थिन्।
तर त्वयना यी सबै कुराको मतलब नगरी आफ्नो काममा निरन्तर अगाडि बढिरहे।
त्वयनाको सपना : दृष्टिविहीनता अन्त्य
त्वयनाको चाहना छ– मान्छेको मृत्युपछिको पहिलो संस्कार नै आँखाको नानी दानबाट सुरु होस्। देशका विभिन्न ठाउँ–ठाउँमा आँखा संकलन केन्द्र बनाएर सबै ठाउँमा आँखा दान होस् र नानी प्रत्यारोपणको काम पनि होस् भन्ने उनी चाहन्छन्।
‘अझै पनि दूरदराजका मानिसहरू आँखाको नानी फेर्न मिल्छ भन्ने कुरा थाहा नभएर पनि दृष्टिविहीन रहेका छन्। त्यो अन्त्य गर्न सकिन्छ,’ उनी भन्छन्, ‘नेपालमा सबै मिलेर यति गर्न सकिन्छ।’
प्रदेश स्तरका सम्बन्धित स्थानीय आँखा अस्पतालसँग समन्वय गरेर आँखा संकलन केन्द्र खोल्ने योजना भइरहेको उनले सुनाए।
हाल नेपालको विभिन्न स्थानमा क्षेत्रीय नानी संकलन केन्द्रहरू छन्। जसमा मेची नेत्रालय, विराटनगर आँखा अस्पताल, लहान आँखा अस्पताल, भरतपुर आँखा अस्पताल, हेटौँडा आँखा अस्पताल, हिमालय आँखा अस्पताल, गेटा आँखा अस्पताल, रनअम्बिका आँखा अस्पताललगायत छन्। यी अस्पतालका प्राविधिकहरूलाई चाहिँ रिफ्रेसर ट्रेनिङ दिने र सक्षमता जाँच वर्षको एक पटक दिने गरेको उनको भनाइ छ।
‘काठमाडौँमा त राम्रैसँग आँखा संकलन र प्रत्यारोपणको काम भइरहेको छ,’ शंखनारायण त्वयना भन्छन्, ‘तर अब बाहिरको कामलाई पनि बढाउन सक्यो भने आँखाको नानीको कारणले धेरै समय मानिसहरू दृष्टिविहीन रहनु नपर्ला।’
Shares

प्रतिक्रिया