बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज (बुधबार) रातिदेखि पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको ‘मोन्था’ बिस्तारै कमजोर हुँदै उत्तर-उत्तर पश्चिम दिशामा सर्दै छ। यस क्रममा यो न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभागनजिक आई पूर्वतर्फ सर्नेछ र आज (कात्तिक १२) रातिदेखि नै यसको प्रभाव लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती, मधेस र कोसी प्रदेशको मौसममा पर्नेछ।
यसको प्रभाव कात्तिक १५ गते शनिबार बिहानसम्म रहनेछ भने यस अवधिमा कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका धेरै स्थान, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी पहाड र हिमाल भूभागका एक-दुई स्थानमा मध्यम हिमपात हुने सम्भावना छ।
साथै कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपात तथा कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
जसका कारण ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
यस्तो छ, मौसम महाशाखाले गरेको ३ दिनको प्रक्षेपण-
कात्तिक १२ गते (बुधबार)
दिउँसो : देशभर साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति : देशभर साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा/हिमपात र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
कात्तिक १३ गते (बिहीबार)
दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी पहाड भूभागमा भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।
राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी पहाड भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बाँकी पहाड भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपातका साथै कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
कात्तिक १४ गते (शुक्रबार)
दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी पहाड भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड तथा हिमाल भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।कर्णाली प्रदेशको थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका धेरै स्थान, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी पहाड र हिमाल भूभागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपातका साथै कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी पहाड भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा तथा बाँकी पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका धेरै स्थानमा तथा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपातका साथै कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
मौसम महाशाखाले यहाँ 'दिउँसो' शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र 'राति' शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
Shares

प्रतिक्रिया