समाज


पर्यटकको रोजाइमा आकासे ताल

पर्यटकको रोजाइमा आकासे ताल

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १७:४२, जुम्ला

समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा रहेको  जुम्लाको गुठीचौर गाउँपालिका –१ स्थित ‘आकासे ताल’ पर्यटकको रोजाइमा परेको छ।

पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको सो ताल हेर्न उल्लेख्य सङ्ख्यामा मानिसहरू आउन थालेका छन्।   

चौँरी गोठालाले २०७६ सालमा पत्ता लगाएको सो ताल हेर्न विशेषगरी आन्तरिक पर्यटक बढी आउनेगरेको गुठिचौर गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष अर्जुनकुमार महताराले जानकारी दिए।

स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्द्धनमा सक्रिय सृजना सिज्जुसहितको टोलीले पहिलो पटक सो तालको अवलोकन गरी भिडिओ सार्वजनिक गरेपछि महत्व बढी यो पर्यटकीय केन्द्र बन्न सफल भएको हो।  

वडाध्यक्ष महताराले भने, 'यसवर्ष दसैँ–तिहारको अवसरमा ताल हेर्न आउने पर्यटकको सङ्ख्या अपेक्षा गरेभन्दा धेरौ बढी भयो। उच्चस्थानमा अवस्थित उक्त तालको  प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँग समन्वय भइरहेको छ। तालसम्म पुग्नका लागि रु ५० लाखको लागतमा सडक निर्माण गरेका छौँ।'

पालिकाले तालको वास्तबिक क्षेत्रफल नापजाँचको काम अघि बढाएको जानकारी दिँदै प्रवक्ता महताराले सडक पुगेको ठाउँबाट तालसम्म पुग्न करिब तीन किलोमिटर पदमार्ग निर्माण गर्नुपर्ने र आगामी हिउँदे गाउँसभाबाट तालको प्रवर्द्धनमा  आवश्यक बजेट विनियोजन गर्ने स्पष्ट पारे। पालिकाले तालसम्म पुगेका पर्यटकलाई बस्नका लागि धर्मशालाको व्यवस्था गरेको जनाएको छ।   

पछिल्लो समय तालको अवलोकन तथा घुमघाम गर्ने र ‘भिडियो डकुमेन्ट्री’ बनाउनेलगायतका प्रयोजनका लागि दैनिक तीनदेखि पाँचसमुह यहाँ आउने गरेको वडा अध्यक्ष महताराले जानकारी दिए।

स्थानीयबासी अजीत थापाका अनुसार तालको मनमोहक दृश्यका कारण पर्यटक लामो समयसम्म यहाँ बस्न रचाउँछन्। हिमालको फेदमा चिटिक्क परेको आकासे तालको मनमोहक दृश्यले पर्यटकको मन लोभ्याउने गरेको। स्थानीयबासी थापाले भने, 'रारा ताल घुम्न आउने पर्यटकलाई यो तालसम्म ल्याउनसके स्थानीय अर्थतन्त्र थप चलायमान हुनेथियो। गुठिचौरबासीलाई लाभान्वित तुल्याउने यो महत्वपूर्ण केन्द्र  बन्नसक्छ, त्यसतर्फ स्थानीय पालिकाको ध्यान जानुपर्ने देखिन्छ।'

यसैसन्दर्भमा तीनै तहका सरकारले पूर्वाधार विकास एवं प्रचारप्रसारमा जोड दिई जुम्लाबजारबाट नजिक पर्ने सो ताललाई आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गुठिचौरबासीले जोडदार माग गरेका छन्।   

जुम्लामा कार्यरतसहित अन्य जिल्लाका सरकारी कर्मचारी, सङ्घ, संस्थाका प्रतिनिधिहरू समेतको समय मिलाएर तालको अवलोकन गर्नेक्रम बढ्दो छ।

तातोपानी गाउँपालिका–४ का स्थानीयबासी भरत नेपाली हिमालको फेदीस्थित समथर भागमा नीलो रङ्गको पानीले भरिएको मनमोहक तालको अवलोकन गर्दाको आनन्द शब्दमा वर्णन गर्न नसकिने बताउँछन्। 

उनले भने, 'केही वर्षअघि मात्र फेला पेरको हिमरेखा नजिक पर्ने विशिष्ट प्रकृतिको तालको अवलोकन गरी रमाउन सबैसँग आग्रह गर्दछु।'

प्रकृतिको काखमा रहेका धेरै तालहरू आजसम्म पनि मानवको पहुँचबाट धेरै टाढा र बेखबर छन्। विकट भूगोल, पर्यटकीय गन्तव्यको खोजी र अनुसन्धानको कमी तथा प्रचारप्रसार तथा संरक्षणको अभावमा कैयौँ ताल गुमनाम अवस्थामा छन्।

करिब छ वर्षअघि मात्र पत्तालागेको गुठिचौरस्थित ‘आकासे ताल’को वास्तबिक नापनक्सासहित प्रचारप्रसार र प्रबद्र्धन गर्न र तालसम्म पुग्ने सडकबाटो एव् अत्यावश्यक भौतिक पूर्वाधार निर्माणमा सरोकारवाला पक्षको ध्यान जान आवश्यक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad