प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित बेशीसहरमा रहेको घरमा गएराति करिब १२ बजे ढुंगामुढा भएको छ।
ढुंगा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् भने अध्यक्ष पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको प्रेस चौतारीले जनाएको छ। उक्त घरमा हाल अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन्।
प्रेस चौतारी नेपालले घटनाप्रति घोर निन्दा गर्दै यसलाई पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भनेको छ। चौतारीले यो आक्रमण योजनाबद्ध रूपमा गरिएको दाबी गर्दै भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजक स्टाटस लेखी आक्रमण गर्न आह्वान गरिएको र गएराति सोही अनुसार घटना घटेको दाबी गरेको छ।
संस्थाले अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास सफल नहुने चेतावनी दिएको छ। प्रेस चौतारी नेपालले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न सुरक्षा निकाय र प्रशासनसँग माग गरेको छ।
Shares

प्रतिक्रिया