नेपालमा आज (शनिबार) देखि चक्रवात ‘मोन्था’को असर अन्त्य भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अब नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मात्र छ।
यसअघि बंगालको खाडीमा विकसित मोन्था चक्रवातको असरले नेपालमा गत बुधबारदेखि वर्षायाममा झैँ लगातार पानी परिरहेको थियो। आजदेखि भने यसको असर नरहेको मौसम महाशाखाले जनाएको छ।
योसँगै वर्षा हुने क्रम घटे पनि पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले आज देशका विभिन्न स्थानमा पानी तथा हिउँ पर्ने प्रक्षेपण मौसम महाशाखाले गरेको छ। त्यसो त अहिले पनि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ।
महाशाखका अनुसार आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान, कोसी प्रदेश र मधेस प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका थोरै स्थानमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
रातिदेखि भने वर्षा र हिमपात हुने क्रम ह्वात्तै घट्ने आकलन मौसम महाशाखाले गरेको छ।
महाशाखाका अनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र हिमाल भूभागका थोरै स्थानमा मात्र हल्का वर्षा/हिमपातको सम्भावना छ।
हेर्नुहोस् ३ दिनसम्मको मौसम प्रक्षेपण:

मौसम महाशाखाले यहाँ 'दिउँसो' शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र 'राति' शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
Shares

प्रतिक्रिया