भारी हिमपात र वर्षाका कारण पाँच दिनदेखि मनाङस्थित तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले ९ घण्टाको प्रयासपछि उद्धार गरेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाकाअनुसार सशस्त्र प्रहरी बलको माउन्टेन रेस्क्यु ट्रेनिङ स्कुल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यु टिमले उनीहरूलाई सकुशल उद्धार गरेको हो।
उद्धार गरिएका पर्यटकहरूमा एकजना खुट्टामा चोट लागेका व्यक्ति, एकजना ९ वर्षीय बालक, एकजना बिरामी महिला र अन्य सामान्य अवस्थाका व्यक्ति रहेको उनले बताए। उनका अनुसार सबैको अक्सिजन लेभल कम छ।
उनीहरूको उद्धार साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै ९ घण्टाको प्रयासपछि सफल भएको हो।
पर्वतीय उद्धार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यु टिमले विशेष माउन्टेन रेस्क्यु गियर र उपकरण प्रयोग गरी यो जोखिमपूर्ण काम सम्पन्न गरेको हो।
पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा लगिएको जनाइएको छ।
उक्त शिक्षालयमा यो आर्थिक वर्षमा पहिलोपटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यु तालिम सञ्चालन गरिएको थियो। यस तालिमका क्रममा पर्वतीय उद्धार तालिम शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले असोज अन्तिम साता चुलु फार इस्ट (६,०३८ मिटर) को आरोहण गरेका थिए।
यसले सशस्त्र प्रहरी बल्को माउन्टेन रेस्क्युको क्षमता अभिवृद्धि गरेको छ र भविष्यमा यस्ता घटनामा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासलाई निरन्तरता दिने बताइएको छ।
हिमाली क्षेत्रमा भएका यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमहरूको सामना गर्न आवश्यक पूर्वतयारीको महत्त्वलाई उजागर गरेको सशस्त्र प्रहरी बलको अनुभव रहेको सहप्रवक्ता थापाको भनाइ छ।
उद्धारको भिडिओ क्लिप्स-
Shares

प्रतिक्रिया