समाज


रिसोर्टमा लुटपाट र आगजनी गरेको आरोपमा पोखराबाट कराते प्रशिक्षकसहित ५ जना पक्राउ

रिसोर्टमा लुटपाट र आगजनी गरेको आरोपमा पोखराबाट कराते प्रशिक्षकसहित ५ जना पक्राउ

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १०:४४, पाेखरा

जेन–जी आन्दोलनको क्रममा पोखराको लेकसाइडमा रहेको बरपिपल रिसोर्टमा आगजनी  र लुटपाट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा २९ वर्षीय रूपक नेपाली, पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ रहेका छन्। 

पक्राउ परेका रुपक कराते प्रशिक्षक हुन्। आन्दोलनकारीले गएको भदौ २४ गते पटक–पटक बरपिपलमा पुगेर आगजनी र लुपटपाटको प्रयत्न गरेका थिए। 

होटलका कर्मचारी र शुभेच्छुकले पटक–पटक सम्झाइबुझाइ पठाए पनि अन्तिममा चाहिँ बरपिपलमा आगो लगाइएको थियो। 

आगजनीमा उत्रनेहरुले बरपिपलमा माओवादी अध्यक्ष प्रचण्डको लगानी रहेको आरोप लगाएका थिए। रिसोर्ट संचालक जीतु गुरुङले चाहिँ सो आरोपको स्पष्ट शब्दमा खण्डन गरेका थिए। 

लमजुङबाट पोखरा आएर होटलको सामान्य कामदार, त्यसपछि टे«किङ गाइड हुँदै व्यावसायिक यात्रा सुरु गरेका जीतुले  ‘रिसोर्ट आफ्नै बलबुतामा बनाएको र त्यसका निम्ति वर्षौं मिहिनेत गरेको’ बताउँदै आएका छन्। 

आफ्नो रिसोर्टमा आगजनी र लुटपाटमा संलग्नहरुलाई कारवाहीको माग गर्दै आएका उनले एक हप्ताअघि पोखरामा भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आयोजना गरेको  कार्यक्रममा आफू लिखित रुपमा प्रमाणसहित जाहेरी दिन तयार रहे पनि कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेका थिए। 

सो कार्यक्रममा कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्की पनि सहभागी थिए। जीतुको भनाइपछि एसपी कार्कीले आपराधिक घटनामा संलग्नलाई उन्मुक्ति नदिने बताएका थिए। 

प्रहरीले व्यवसायीको जाहेरी र अनुसन्धानपछि आपराधिक कार्यमा संलग्नमाथि कारवाही प्रक्रिया अगाडि बढाएको कास्की प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad