बुढानीलकण्ठ स्कुल, काठमाडौँका प्रिन्सिपल केशर खुलाल यसै विद्यालयका पूर्वविद्यार्थी हुन्। पूर्ण छात्रवृत्तिमा छनोट भएर उनी २०३६ सालमा तेह्रथुमबाट काठमाडौँ आए। र, कक्षा ४ मा भर्ना भए। त्यही समयमा तत्कालीन युवराज दीपेन्द्र पनि कक्षा ४ मा भर्ना भएका थिए। उनीहरूले एसएलसी परीक्षा पनि सँगै दिएका हुन्।
प्रिन्सिपल खुलाल भन्छन्, ‘विद्यालयमा सर्वसाधारण विद्यार्थी र उहाँबीच कुनै भेदभावपूर्ण व्यवहार हुँदैनथ्यो। हामी उस्तै खाना खान्थ्यौँ। उस्तै लाउँथ्यौँ। उस्तै बिस्तारामा सुत्थ्यौँ। को युवराज, को गरिबका छोरा भन्ने नै भएन।’
बुढानीलकण्ठ स्कुलमा विद्यार्थीले आफ्नो थर भन्दैनन्, लेख्दैनन्। उनीहरूलाई रोल नम्बर र पहिलो नामबाट बोलाउने गरिन्छ।
‘मेरो रोल नम्बर ८०४ थियो। कक्षामा मलाई बोलाउँदा ८०४ केशर भनिन्थ्यो। थर के हो भन्ने शिक्षक-विद्यार्थी कसैलाई थाहा हुँदैनथ्यो। उहाँको रोल नम्बर ८३२ थियो। उहाँलाई बोलाउँदा दीपेन्द्र भन्थ्यौँ। विभिन्न उपनामले बोलाउँथ्यौँ,’ खुलाल भन्छन्।

फरक आर्थिक-सामाजिक पृष्ठभूमिबाट आएका देशभरिका विद्यार्थी यो आवासीय विद्यालयमा पढ्छन्। सबै विद्यार्थी छात्रावासमा बस्नु पर्छ। विद्यालय समयपछिका पोसाकदेखि छात्रावासमा लाउने उनीहरूको लुगा एकैखाले हुन्छ। सम्पन्न विद्यार्थीले प्रयोग गर्ने सामान एकथरी र विपन्नले प्रयोग गर्ने अर्कोथरी हुँदा विद्यार्थीमा हीनताबोध नहोस् भनेर नै यस्तो व्यवस्था गरिएको हो।
प्रिन्सिपल खुलाल भन्छन्, ‘समानता होस् भनेर भर्ना भएका दिन विद्यार्थीलाई टुथपेस्टदेखि सबै सामान दिइन्छ। सुत्दाखेरि लाउने लुगा पनि सबैको कमन हुन्छ।’
बुढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीअन्तर्गत चलेको एक गैरनाफामूलक विद्यालय हो। यो देशकै प्रतिष्ठित विद्यालय मानिन्छ। यो स्कुलले पटक-पटक राष्ट्रिय पुरस्कार जितेको छ। ए लेभलमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।
यहाँका विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरस्कार जित्दै आएका छन्। खुलालले दिएको जानकारीअनुसार यो शैक्षिक सत्रमा यहाँका विद्यार्थीले ग्लोबल म्याथमेटिक्स ओलम्पियाडमा रजत पदक जितेका छन्। नेपालको इतिहासमा यस्तो उपलब्धि पहिलो हो।
विद्यालयका पूर्वप्रधानाध्यापकहरूका अनुसार विपन्न, पिछडिएका समुदायलगायत सबै वर्गका अनि दूरदराजका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन नमुना विद्यालय बनाउने राजा महेन्द्रको परिकल्पना थियो। यसैअनुरुप बेलायत सरकारको प्राविधिक सहयोगमा २०२८ सालमा यो विद्यालय स्थापना भएको थियो।
प्रिन्सिपल खुलाल भन्छन्, ‘राजा महेन्द्रबाट एउटा विद्यालय जहाँ सबै तह र तप्काका विद्यार्थीले कुनै भिन्नता महसुस नगरी पढ्ने वातावरण होस् र गुणस्तरीय शिक्षा दिन सकियोस् भनेर यो मोडल सुरु गरिएको हो।’

स्कुलले मूलतः विद्यार्थीमाथि जातीय र वर्गीय विभेद नहोस् भन्ने मूल्यमान्यता अंगालेको छ। साढे पाँच दशकअघि सुरु भएको विद्यार्थीले आफ्नो थर नलेख्ने परम्परा अहिलेसम्म कायम छ।
यसबारेमा खुलाल प्रष्ट पार्छन्, ‘जातीय विभेद गर्नु हुँदैन भनेर भित्रैबाट महसुस नगर्ने मान्छे अझै पनि छन्। त्यसैलै यसलाई निरन्तरता दिएका छौँ। नेपाली समाज परिवर्तित छ। हरेकले आफ्नो थरमा गर्व गर्न सक्नु पर्छ। तर, गर्व गर्दै गर्दा अर्कोलाई होच्याउनु हुँदैन।’
कतिपय सार्वजनिक स्कुलका प्रधानाध्यापक तथा शिक्षकको ठम्याइ छ– कमजोर आर्थिक अनि सामाजिक पृष्ठभूमिका विद्यार्थी बढी हुने र धेरैका अभिभावक अशिक्षित हुने हुँदा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको हो।
त्यस्तै निजी स्कुलका कतिपय सञ्चालक तथा प्रअहरू यस्ता वर्गका विद्यार्थी आए स्कुलको वातावरण बिग्रने र अरू विद्यार्थी बिग्रन्छन् भन्ने ठान्छन्।
बुढानीलकण्ठमा कक्षा ५ मा भर्ना लिइने विद्यार्थीमध्ये सरकारको छात्रवृत्ति पाउने झन्डै एक तिहाइ विद्यार्थी सामुदायिक विद्यालय पढेर आएका हुन्छन्। विपन्न, पिछडिएका समुदाय र दुर्गम ठाउँका हुन्छन्। तर, यहाँका शिक्षकका अनुसार पछि तिनै विद्यार्थी अब्बल भएर निस्कन्छन्।
‘केही विद्यार्थी सुरुमा फरक हुन सक्छन्। उनीहरूले केही शब्द प्रयोग गर्लान्। उनीहरूलाई सुधार गर्न सिकाउँदै सम्झाउँदै बुझाउँदै जाने हो। पिछडिएका वर्ग वा कमजोर आर्थिक अवस्थाका विद्यार्थीको आचरण सही हुँदैन र अरूको हुन्छ भन्ने भ्रम हो,’ प्रिन्सिपल खुलाल भन्छन्, ‘विद्यार्थीका आमाबुबा के गर्छन्, हामी खोतल्दैनौँ। चर्चा गर्दैनौँ। विद्यार्थीलाई शिक्षक, कर्मचारी वा जो कसैले जातीय वा वर्गीय विभेद गरे कडा कारबाही हुने नियम छ।’

स्कुलमा पाठ्यक्रम र पाठ्यपुस्तक बाहेकका सिकाइलाई निकै महत्त्व दिइएको छ। विद्यार्थीले आफ्नो रुचिका क्षेत्रमा विद्यालयभित्र वा बाहिर के काम गर्ने हो, प्रस्ताव तयार गर्छन्, दाता खोज्छन्। उनीहरूले गर्ने काममा शिक्षकहरूले सहयोग गर्छन्।
‘विद्यालयमा मेकर्स स्पेस पनि छ। यहाँ विद्यार्थीले आफूलाई मन लागेको कुरा बनाउँछन्। केही बनाउँदा बिग्रन्छ कि भनी डर नराखी बनाउन सक्ने वातावरण छ। जस्तो विद्यालयभित्र खोला छ। कसैलाई डुंगा बनाएर खेल्न मन लाग्यो भने बनाउँछन्,’ खुलाल खुलस्त पार्छन्, ‘विद्यार्थीले डर नमानी केही गर्न सिकून् भन्नेमा जोड दिइएको छ।’
त्यस्तै, आफ्नो समुदाय वा कतै आफूले सकेको योगदान गर भनेर विद्यार्थीलाई सिकाइन्छ। ‘गिभ ब्याक टु योर सोसाइटी’ भन्ने गरिएको छ। प्रिन्सिपल खुलालले विद्यार्थीहरू बिदामा घर जाँदा समुदायमा के गर्न सकिन्छ गर र स्कुलमा आएर रिपोर्ट गर भन्ने गरेका छन्।
‘केही वर्षअघि कालिकोटमा गएर विद्यार्थीले लाइब्रेरी बनाए। उनीहरूले आफैँ आर्थिक स्रोत खोजे। बाजुरामा स्वास्थ्य शिविर गरे,’ खुलाल उदाहरण दिन्छन्।

बुढानीलकण्ठमा शिक्षक मूल्यांकनमा विद्यार्थीले गर्ने मूल्यांकनलाई पनि प्राथमिकतामा राखिएको छ।
यस्तै, यहाँ पूर्वविद्यार्थीलाई पनि विशेष मानिन्छ। विद्यालयको बोर्ड अफ ट्रस्टिज (सञ्चालक समिति)मा गुठियार, विद्यालय व्यवस्थापन समिति र उनीहरू सदस्य रहने व्यवस्था गरिएको छ।
‘नीतिगत तहमा गलत निर्णय हुन नदिन उनीहरूको ठूलो भूमिका हुन्छ। खबरदारी गर्छन्। बोर्ड र व्यवस्थापन समितिमा सरकारको जिम्मेवार व्यक्तिदेखि स्थानीय तहका जनप्रतिनिधि हुन्छन्। स्कुलको सबैभन्दा बढी माया पूर्वविद्यार्थीलाई हुन्छ। उनीहरूले कहिल्यै गलत बाटोमा जान दिँदैनन्,’ प्रिन्सिपल खुलालको अनुभव हो यो।
बुढानीलकण्ठ स्कुलमा कसरी विद्यार्थी छनोट गरिन्छ? प्रधानाध्यापकलाई कसरी सिनियर म्यानेजमेन्ट टिमले सहयोग गर्छ? देशकै एक प्रतिष्ठित गैरनाफामूलक विद्यालयका प्रधानाध्यापक केशर खुलालसँग नेपालखबरले गरेको भिडिओ कुराकानी–
Shares

प्रतिक्रिया