समाज


मुख्यमन्त्री नियुक्ति विवाद: मधेसका प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड

मुख्यमन्त्री नियुक्ति विवाद: मधेसका प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार ११:४२, काठमाडौँ

मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असन्तुष्ट कांग्रेससहित विभिन्न दलका नेता कार्यकर्ताले जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यकक्षमा आज तोडफोड गरेका छन्। 

त्यसक्रममा कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मुख्यमन्त्रीको कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डासमेत फालेका छन्। 

तोडफोडबाट प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यकक्षमा सामान्य क्षति पुगेको धनुषाका एसपी रुगमबहादुर कुँवरले जानकारी दिए।

त्यसक्रममा उनीहरूले मधेस प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड गरेका छन्। 

प्रदेश प्रमुख सुमेत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपासहितका प्रदेश सांसद र दलका कार्यकर्ताले मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेका हुन्। उनीहरूले प्रदेश प्रमुख भण्डारीको निवास अडाडि पनि ताेडफाेड गरेका छन्।

‘माननीय ज्यूहरुले नै तोडफोड गर्नुभएको हो,’ एसपी कुँवरले नेपालखबरसँग भने, ‘तोडफोडबाट कुर्सी, गमला, होर्डिङ बोर्ड लगायतमा सामान्य क्षति भएको छ।’

अहिले अवस्था सामान्य बनिसकेको पनि उनले बताए। 

आज बिहान मात्रै भण्डारीले बर्दिवासको एक होटलमा एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। 

त्यसप्रति काग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा लगायतका दल असन्तुष्ट छन्। 

उनीहरूले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतका आधारमा मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आएका थिए। 

तर, एमाले कोटामा प्रदेश प्रमुख बनेकी झापा निवासी भण्डारीले विपक्षी दलहरूको कुरा नसुनी ठूलो दलको हैसियतमा एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad