भारतको नयाँ दिल्लीमा सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच सम्पन्न नवौँ द्विपक्षीय समन्वयात्मक बैठक समापन भएको छ।
उक्त बैठकमा नेपालतर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले नेतृत्व गरेका थिए भने भारतीय पक्षको नेतृत्व एसएसबीका महानिर्देशक संजय सिंघलले गरेका थिए।
कार्तिक २६ देखि २८ गतेसम्म भारतको राजधानी नयाँ दिल्लीमा बसेको बैठकमा दुवै देशका सीमा सुरक्षा निकायबीच आपसी समन्वय र सहयोगका महत्वपूर्ण विषयमा विस्तृत छलफल भएको थियो।
बैठकमा सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रण, अवैध चोरी-निकासी तथा पैठारी रोकथाम, गैरकानुनी आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान, संयुक्त सीमा गस्ती तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक सहकार्यका विषय मुख्य एजेन्डा बने। साथै, २०८१ मंसिरमा काठमाडौंमा सम्पन्न आठौँ समन्वयात्मक बैठकबाट पारित निर्णयहरूको पनि समीक्षा गरिएको थियो।
बैठकले पारित साझा रणनीति र सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा आगामी कार्ययोजनाबारे पनि विस्तृत छलफल गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
बैठकमा सहभागी हुन नेपालबाट आइजीपी अर्यालसहित सीमा सुरक्षा विभाग प्रमुख एआईजी गणेशबहादुर ठाडा मगर, डीआईजी दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृहमन्त्रालयका उपसचिव रवीन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तण्डुकार तथा डिएसपी सुरज पौडेल कार्तिक २५ गते दिल्ली प्रस्थान गरेका थिए।
Shares

प्रतिक्रिया