समाज


भारतले नेपाललाई दियो थप १० वटा बेलिब्रिज

भारतले नेपाललाई दियो थप १० वटा बेलिब्रिज

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १६:१०, काठमाडौँ

भारतले नेपाललाई थप १० वटा बेलिब्रिज (फलामे पुल) अनुदानमा दिएको छ। भारी वर्षाका कारण आएको बाढी-पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेलिब्रिज दिएको हो। भारतले गत वर्ष १० वटा बेलिब्रिज नेपाललाई दिएको थियो। नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेलिब्रिज अनुदानमा उपलब्ध गराएको हो।

भारतले उपलब्ध गराउने १० वटामध्ये एउटा बेलिब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ। बाँकी नौ वटा बेलिब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार हेटौँडामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक, पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई बेलिब्रिज हस्तान्तरण गरे।

भारतले उपलब्ध गराएको बेलिब्रिजको लम्बाइ ७० मिटर रहेको छ। पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ। पुलको भारबहन क्षमता ३८ मेट्रिकटन रहेको छ।

पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका बेला भारतले उपलब्ध गराएको सहायतले क्षति पुगेका पूर्वाधार शीघ्र पुनर्स्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताए।

सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले संकटका समयमा उपलब्ध गराएको सहायताले द्विपक्षीय साझेदारी अझै दह्रो देखिएको बताए।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सधैँ तयार रहेको बताए। यस वर्ष उपलब्ध गराइएको बेलिब्रिजको लम्बाइ केही लामो रहेकाले यसले धेरै क्षति पुगेका ठाउँमा जडान गर्न थप सहज हुने उल्लेख गर्दै उनले छनौट गरिएका ठाउँमा पुल जडानका लागि छिटै प्राविधिक टोली पनि आउने जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले प्राकृतिक विपद्ले क्षति पुर्‍याएका सडक सञ्चालनका लागि भारतकातर्फबाट उपलब्ध हुँदै आएको वस्तुगत र प्राविधिक सहयोगका लागि धन्यवाद दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad