समाज


‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु

‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १६:४७, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ। आज राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण सुरु गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यथाशक्य घाइतेहरूको छिटो वर्गीकरण गरेर स्वास्थ्य मन्त्रालयमा सिफारिसका लागि पठाइने जानकारी गराए। 

उनले भने, ‘हामी पारदर्शी ढङ्गले नै घाइतेको वर्गीकरण गर्छौं। सरकारको नीतिअनुसार हामीले काम गरिरहेका छौँ, यहीअनुसार घाइते भएका ७७ वटै जिल्लामा घाइतेको वर्गीकरण गरेरमा सरकारलाई सहज रूपमा विवरण प्राप्त हुनेछ।’

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अस्पतालमा उपचाररत घाइतेलाई अस्पताल पुगेर वर्गीकरण गर्ने र सिफारिस गरेर पठाउने जानकारी गराए। 

‘वर्गीकरण लागि आउन नसक्नेलाई अस्पतालले एम्बुलेन्सको व्यवस्था गरेर सहजीकरण गरेको छ। धेरै जना सम्पर्कमा आइसकेकाले सम्भवतः एक हप्ताभित्र परिचयपत्र वितरणको काम सक्छौँ।’

वर्गीकरणका लागि घाइते परिचयपत्र बोकेर करिब १०० जना घाइते ‘जेनजी’ हरू ट्रमा सेन्टरमा पुगेका थिए।

सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ जारी गरिसकेको छ। घाइतेलाई अतिगम्भीर, गम्भीर, मध्यम र सामान्य घाइतेगरी चार प्रकारमा वर्गीकरण गर्ने भनिएको छ। 

घाइतेमध्ये चोटपटकका आधारमा अतिगम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटकका आधारमा छुट्याउने गरिएको छ। वर्गीकरणका आधारमा परिचयपत्र उपलब्ध गराई सोहीअनुसारको सुविधा उपलब्ध गराउने सरकारको नीति छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad