समाज


कोरिया गएर कमाउने सपना बोकेर कोरियाली भाषा पढ्न काठमाडौँ आएका थिए १८ वर्षे दीपक

कोरिया गएर कमाउने सपना बोकेर कोरियाली भाषा पढ्न काठमाडौँ आएका थिए १८ वर्षे दीपक

दीपकबहादुर साउद


दीपक चन्द/रासस
मंसिर १०, २०८२ बुधबार १३:१०, काठमाडौँ

बैतडीको शिवनाथ गाउँपालिका-२ मडैगाउँ स्थायी घर भएका १८ वर्षीय दीपकबहादुर साउद कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना बोकेर कोरियाली भाषा पढ्न काठमाडौँ आएका थिए।

तर त्यो सपना गत भदौमा भएको जेनजी आन्दोलनमा उनीसँगै बिलायो।

गत भदौ २४ गते काठमाडौँको कालीमाटी क्षेत्रमा भएको आन्दोलनमा दीपकलाई प्रहरीको गोली लाग्यो। गोलीले आँखामा चोट लाग्नाका साथै मस्तिष्कमा पनि असर पुार्‍यो।

आन्दोलनको पहिलो दिन भदौ २३ गते साँझ छोरासँग अन्तिम संवाद गरेकी आमा लक्ष्मी साउदका आँखा अझै ओभाएका छैनन्। छिमेकी र आफन्तले सात्वना दिन आउँदा पनि उनी सम्हालिन सक्दिनन्। 

भदौ २३ गते काठमाडौँमा १७ जना र सुनसरीमा दुई युवा मारिएको खबर सुनेपछि आमा लक्ष्मीले छोरालाई आन्दोलनमा नजान भनेकी थिइन्।

‘मैले भनेको मानेको भए सायद मेरो छोरो हामीसँगै हुन्थ्यो होला’, लक्ष्मी भन्छिन्। 

तर दीपकले आफ्नो उमेर समूहका साथीहरूले दिएको बलिदान र देशमा व्याप्त भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुने इच्छा व्यक्त गर्दै आमासँग भनेका थिए, ‘यदि मेरा साथीहरू जान्छन् भने म पनि जान्छु। यसमा मलाई नरोक्नु आमा। आन्दोलनमा जाँदैमा मरिन्छ भन्ने पनि होइन।’

आन्दोलनमा सहभागी भएका उनीसँग भदौ २४ गते बेलुकीदेखि मोबाइलमा सम्पर्क टुटेको भाउजू सरस्वती साउद बताउँछिन्।

दीपक दुई साथीसँग काठमाडौँको कीर्तिपुरमा कोठा लिएर बसेका थिए।

बेलुकी साथीहरूले दीपक घाइते भएर अस्पताल लगिएको र उपचार भइरहेको जानकारी दिएका थिए।

तर भदौ २५ गते बिहान अप्रत्याशित रूपमा उनको निधनको खबर परिवारले पायो।

‘त्यो खबरले घरको आशा र भरोसा दुवै तोडिदियो’, भाउजू सरस्वती भन्छिन्, ‘यस्तो खबर सुन्नुपर्‍यो भनेर कसैले सोचका पनि थिएनौँ।’

दीपक पढाइमा पनि अत्यन्त मेहनती थिए।

घरनजिकैको विद्यालयमा ११ कक्षा पढ्दापढ्दै कोरियन भाषा परीक्षाको तयारीका कारण विद्यालय नजाँदै एकैपटक १२ कक्षा उत्तीर्ण गरेका थिए। 

पाँच भाइमध्ये तेस्रा दीपकका दुई भाइ गाउँकै विद्यालयमा पढ्दै छन् भने दुवै दाजु रोजगारीका लागि भारतको मुम्बइमा छन्।

भाइको मृत्यु भएको खबर पाएपछि जेठा दाजु वीरेन्द्र मुम्बइबाट गत भदौ २७ गते मात्रै काठमाडौँ आएका थिए। 

चिकित्सकले वीरेन्द्रसँग भाइको आँखामा गोली लागेर ‘ब्रेन डेड’ भएर मृत्यु भएको बताएका थिए।

वीरेन्द्र भन्छन्, ‘हामी आउँदासम्म भाइको शव ट्रमा सेन्टरमा राखिएको थियो। भिडिओ एक्सरे हेर्दा एक आँखामा गोली लागेको देखियो।’

उनले अगाडि भने, ‘अब केही गरे पनि मेरो भाइ फर्किने छैन तर आन्दोलनमा गएर ज्यान गुमाएका युवाहरूको उद्देश्य सरकारले पूरा गर्नैपर्छ।’

गाउँलेहरू पनि दीपकको बलिदान सम्झँदै दुःख व्यक्त गर्छन्।

दीपक आफ्नो गाउँमा इमानदार र सहयोगी युवा भनेर चिनिएका थिए।

शिवनाथको मडैगाउँले एक होनहार युवा गुमाएको छ।

सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा मारिएका ४५ युवालाई सहिद घोषणा गरिसकेको छ, जसमा दीपक पनि एक हुन्।

उनको परिवारको भनाइ छ, ‘सहिद घोषणा मात्र पर्याप्त छैन उनीहरूले उठाएका माग पूरा गर्न सरकारको इच्छाशक्ति, राजनीतिक दल र नागरिक समाजलगायत सवै पक्षको सहयोग अपरिहार्य छ। दीपकको कथा केवल व्यक्तिगत पीडा मात्र होइन, यो त्यस पुस्ताको आवाज हो, जसले भ्रष्टाचार र असमानताविरुद्ध देशमा उज्यालोको आशा बोकेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad