समाज


प्रधानमन्त्रीलाई कुलपति बनाउन नहुने पक्षमा कार्की, भनिन्- १९ वटा विश्वविद्यालयको भारी बोकेर हिँड्न सकिँदैन

प्रधानमन्त्रीलाई कुलपति बनाउन नहुने पक्षमा कार्की, भनिन्- १९ वटा विश्वविद्यालयको भारी बोकेर हिँड्न सकिँदैन

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १५:३६, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले देशभरका विश्वविद्यालयलाई स्वायत्त बनाउनु आवश्यक भएको बताएकी छन्। 

बुधबार कीर्तिपुरस्थितत्रिभुवन विश्वविद्यालयको सभामा बोल्दै उनले एकै प्रधानमन्त्रीले १९ वटा विश्वविद्यालयको जिम्मेवारी बहन गर्नु व्यवहारिक नहुने स्पष्ट पारिन्।

‘एउटै प्रधानमन्त्रीले सारा डोकोभरि भारी बोकेर हिँड्न सकिँदैन,’ कार्कीले भनिन्, ‘स्वायत्तताको माग उठिरहेकाले अब विश्वविद्यालयले आफ्नै कार्यक्रम र योजना बनाउन पाउनुपर्छ।’

उनका अनुसार कुलपति राजनीतिक आधारमा होइन, विज्ञमार्फत चयन हुनुपर्छ। ‘१९ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने रहेछ। एउटा व्यक्तिले कसरी सम्भव हुन्छ? कुलपति विज्ञमार्फत होस्, सभाले खोजोस्,’ कार्कीले जोड दिइन्।

प्रधानमन्त्री कार्कीले राजनीतिक कारणले विश्वविद्यालयसभा प्रभावित हुने गरेको उल्लेख गर्दै यसले शैक्षिक विकासमा बाधा पुुग्ने बताइन्। 

यसैबीच त्रिभुवन विश्वविद्याल सभा (सिनेट) बैठकले आर्थिक बर्ष २०८२, ०८३ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री एवं कुलपति कार्कीको अध्यक्षतामा बसेको सभाले नीति तथा कार्यक्रम पारित गरेको हो। 

नीति तथा कार्यक्रममा विश्वविद्यालयको जग्गा जमिन संरक्षण गर्न तारबार र घेराबार गर्ने, अतिक्रमण गर्नेलाई सरकार र सरकारका निकायमार्फत कारबाही गरिने, काठमाडौँ बाहिरका जग्गा खोजबिन गर्न समिति गठन गरिने जनाईएको छ। 

अतिक्रममा भएका क्याम्पसहरूको समेत जग्गा जमिन खोजी गर्ने, काठमाडौँ बाहिरका जग्गा खोजी गर्ने, त्रिविको वित्तिय व्यवस्थापनका सम्वन्धमा नीतिगत सुधारका प्रस्ताव राखेको छ। 

उच्चशिक्षाको अध्ययन र अध्यापनमा उद्यमशिलता र रोजगारीको अवधारणा संलग्न गरीनुका साथै उच्च शिक्षामा आम समुदायको पहुँच पुर्‍याउने, उच्चशिक्षाको गुणस्तर अभिबृद्धी, दक्ष जनशक्ति व्यवस्थापन तथा अनुसन्धान र स्तरीय प्रकाशनलाई प्राथिमकता दिइएको छ।

नीति तथा कार्यक्रम पारित गर्दै प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयले स्वआर्जनका स्रोतहरु खोज्न र अन्तर्राष्ट्रिय अनुदान र कार्यक्रमहरुमा समेत संलग्न भई आर्थिक स्रोतहरुको संकलन गर्न अनुरोध गरिन्। 

सभामा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री तथा सहकुलपति महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गाको सम्वन्धमा गठित समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्न जनाए। 

विश्वविद्यालयका सवै शैक्षिक तथा प्रशासनिक डाटाहरुलाई व्यवस्थित गर्न, विदेश अनुसन्धानकर्ता तथा विद्यार्थी आकर्षण गर्ने गरी शैक्षिक बातावरण निर्माण गर्न आग्रह गरे। 

शैक्षिक क्यालेण्डरको कार्यान्वयन गरी विद्यार्थीका गुनासो सम्वोधन गर्न,परीक्षा नियन्त्रण कार्यालयमा हुने गरेका ढिलासुस्तीलाई तत्काल सम्बोधन गर्न आग्रह गरे। सभामा त्रिवि उपकुलपति दीपक अर्यालले पढ्दै कमाउदै नीति कार्यान्वयन गर्ने जनाए। 

कृषि र पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थानमा कार्यक्रम लागू गरिने भन्दै उपकुलपति अर्यालले अन्य अध्ययन संस्थान र संकायहरूमा पनि क्रमशः यो अवधारणा लागू गरिने जनाए।

प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपतिबाट हटाउन अध्यादेश ल्याउने गृहकार्यमा शिक्षा मन्त्रालय
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad