दोलखाको बिगु गाउँपालिका-३ बुलुङकी दिलकुमारी बुढाथोकीको बाँच्ने आधार नै टुटेको छ।
स्तन क्यान्सर भएका कारण आमाको उपचारका लागि पठाओ चलाएर खर्च जुटाइरहेका महेश बुढाथोकी जेनजी आन्दोलनमा सहिद भएपछि पुत्रशोकले दिलकुमारीका आँखा ओभानो छैनन् भने अब उनको उपचार खर्च जुटाउने आधार पनि सकिएको छ।
छोरा बितेपछि आमा दिलकुमारी हरेक रात र दिन रोएर बित्ने गरेको छ।
उनी भन्छिन्, 'छोरा कतिबेला आमा भन्दै छोरा आउँछ झैँ लाग्छ, बितेको विश्वास लाग्दैन।'
‘पठाओ’ गरेर क्यान्सर भएकी आमाको उपचार खर्च जुटाइरहेका २२ वर्षीय महेश गत भदौ २४ गते कोटेश्वरमा प्रहरीको गोलीबाट मारिएका हुन्।
महेशका बुबा केशव भन्छन्, 'छोराले १२ उत्तीर्ण सकेको थियो, युरोप जाने सपना देखेको थियो, युरोपको माल्टा जाने भनेर ५० हजार रुपैयाँ मेनपावरलाई बुझाएको पनि थियो र अहिले फुर्सद भएको समयमा आमाको उपचारलाई खर्च जोहो गर्न पठाओ चलाउने गर्थ्यो तर छोराको न युरोपको सपना पूरा भयो, न आमाको उपचार पूरा गर्ने सपना पूरा भयो, हाम्रो त सबैथोक सकियो, बेसहारा भयौँ।'
महेशका बुबा केशव १० वर्षअघि दोलखाको दुर्गमगाउँ बुलुङबाट आफ्नो कलिला दुई छोराहरूको सुनौलो भविष्य बोकेर काठमाडौँ छिरेका थिए।
गहभरि आँसु पार्दै उनी भन्छन्, 'गाउँमा बाँदर र भालु आतङ्कले बस्ने अवस्था भएन, जति खेती किसान गर्दा पनि परिवार पाल्न धौधौ भएपछि काठमाडौँ आइयो। तर आज यो अवस्था देख्नुपर्यो।'
आफू अनपढ भए पनि भारी बोक्दै छोरालाई १२ कक्षासम्म पढाएको सुनाउँदै उनी भन्छन्, 'अब म बाआमालाई सुख दिन्छु भन्थ्यो, अब युरोप जान्छु धेरै पैसा कमाउँछु अनि काठमाडौँमा घरघडेरी किन्छु भन्ने यसका ती सबै कुरा सपना जस्तै हराएर गए।'
हाल केशव काठमाडौँको सुकेधारास्थित एक ग्यास डिपोमा ग्यास झार्ने र चढाउने काम गर्छ्न। उनको महिनाको रु १५ हजार तलबले न काठमाडौँको ठाउँमा परिवार पााल्न पुग्छ न छोराछोरी पढाउन।
उनी भन्छन्, 'घरको मियो भाँचियो, अब कसको साहाराले बाँच्ने? श्रीमती पनि बिरामी छिन्, उनको उपचार खर्च कसरी जुटाउने? अर्काे छोरा सानै छ।'
भदौ २४ गतेको दिन स्मरण गर्दै दिलकुमारी भन्छिन्, ‘'एक हजार लिएर आमा म स्कुटी सर्भिसिङ गरेर आउँछु है भनेर गएको थियो तर छोरा फर्केन, छोराको श्वास भेट्न सकिन्छ कि भनेर आफैँ किस्ट मेडिकल कलेज पुगेँ, त्यो बेला यसको निधन भइसकेको रहेछ।'
उनी अगाडि भन्छिन्, 'घरको सबै काम गर्ने उही महेश थियो। लुगाधुने, खाना पकाउने, औषधि ल्याउने, खुवाउने काम गर्न रमाउँथ्यो।'
अहिले पनि छोरासहित बसेको घरमा बस्न गाह्रो भएपछि छोराको याद कम होला कि भनेर केशवको परिवार केही पर कोठा सरेर बसेको छ।
महेशले नै आफ्ना भाइलाई २३ गतेको आन्दोलनमा धेरै मान्छे मरेको र २४ गते झन् समस्या हुनसक्ने भन्दै काम गर्न नजानू भनेर २३ गते बेलुकी सम्झाएको बुबा केशव बताउँछन्।
उनी भन्छन्, 'भाइलाई सम्झायो तर आफूले छाडेर गयो। म बिहानै काम गर्न जाने भएकाले त्यस दिन छोरासँग भेट हुन पाएन। एकैपटक छोरा मरेको खबर पाएँ, मैले केही सोच्न सकिनँ।'
महेशको कोटेश्वरमा प्रहरीको गोली लागेपछि मृत्यु भएकै अवस्थामा एक स्थानीय व्यापारीले उनलाई किस्ट मेडिकल कलेज लगेका थिए।
छोरा अस्पतालमा छ भन्ने खबर पाएलगत्तै महेशका बुबा आन्दोलनका कारण गाडी नचलेकाले सुकेधाराबाट तीन घण्टा लामो हिँडेर किस्ट मेडिकल अस्पताल पुगेका थिए। तर उनी पुग्दा महेशको मृत्यु भइसकेको थियो।
छोराको केवल लास भेटे। बुढाथोकी परिवारलाई राज्यले रु १५ लाख दिएको भए पनि अन्य कतैबाट खासै सहयोग र सद्भाव पनि नआएको गुनासो उनले गरे।
Shares

प्रतिक्रिया