समाज


जाँचबुझ आयोगले गर्‍यो केन्द्रीय कारागार अनुगमन

जाँचबुझ आयोगले गर्‍यो केन्द्रीय कारागार अनुगमन

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १६:५६, काठमाडौँ

 जेनजी आन्दोलन जाँचबुझ आयोगले केन्द्रीय कारागारको अनुगमन गरेको छ। सोमबार दिउँसो सुन्धारास्थित कारागार पुगेर आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र ईश्वरी भण्डारीले अनुगमन गरेका हुन्। 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति केन्द्रीय कारागार सुन्धाराबाट तीन हजार पाँच सय १७ जना कैदीबन्दी भागेका थिए। तीमध्ये एक हजार चार सय ९० जना अझै फर्किएका छैनन्। अरु भने कोही आफैँ र कतिपयलाई प्रहरीले पक्राउ गरेर फिर्ता ल्याएको छ। 

नक्खु कारागारबाट भागेका कैदीबन्दी आएर केन्द्रीय कारागार सुन्धारामा पनि तोडफोड गरेका थिए। ठूलो संख्यामा कैदीबन्दी आएर तोडफोड गर्न थालेपछि कैदीबन्दी छुटेका थिए। केहीले भने भाग्न मानेका थिएनन्। 

कैदी भाग्ने क्रममा सुन्धारा कारागारमा एउटा झ्याल फुटेको थियो। ‘उहाँहरु आएर हेरेर जानु भयो। कारागारमा खासै तोडफोड भएको थिएन। एउटा झ्याल मात्रै फुटेको थियो। आएर जेलभित्र के-के भयो भनेर हेरेर, बुझेर जानुभयो’, कारागार स्रोतले नेपालखबरसँग भन्यो। 

यसअघि आयोगले नक्खु कारागारको पनि अनुगमन गरेको थियो। त्यहाँ भएको क्षति र कसरी कैदीबन्दी फरार भए भन्ने विषयमा आयोगले सोधपुछ समेत गरेको थियो। त्यहाँ जेलर र थुनामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेसँग पनि सोधपुछ गरेको थियो। अन्य चौकीदार, नाइके र भाइनाइकेसँग पनि सोधपुछ गरेको थियो। 

सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटना जाँचबुझका लागि पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो। आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad