समाज


जेलमै बस्नु पर्ने भएपछि अधिकारीले बुझाएनन् ५ लाख धरौटी

जेलमै बस्नु पर्ने भएपछि अधिकारीले बुझाएनन् ५ लाख धरौटी

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार २०:५९, काठमाडौँ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ। 

मङ्गलबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनीसँग उक्त धरौटी माग गरेको हो। तर ८ अर्ब ३६ करोड बढीको भ्रष्टार मुद्दाका अभियुक्त अधिकारीले भने अदालतले माग गरेको ५ लाख धरौटी पनि बुझाएनन्।

धरौटी बुझाए पनि जेलमै बस्नु पर्ने भएपछि अधिकारीले इन्कार गरेका हुन्। उनीसँगै अख्तियारले पक्राउ गरेका क्यानकै पूर्व निर्देशक मुरारी भण्डारी भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। 

अधिकारीलाई भने आइतबार विशेष अदालतले नै अर्को मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अब उक्त आदेश माथिल्लो अदालतबाट बदर नभए वा फैसला भएर पनि कैद सजाय नतोकिए मात्रै अधिकारी रिहा हुनेछन्। 

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी र पूर्व निर्देशक भण्डारीसहित ५५ जना र एक चिनियाँ कम्पनी गरी ५६ प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो। 

अख्तियारकै नियन्त्रणमा रहेका अधिकारी र भण्डारीलाई भने यो मुद्दाको सुरुमै उपस्थित गराइएको हो। यसअघि गत बुधबार नलिनचोक हलिपोर्टको मुद्दामा उनीहरूलाई पक्राउ गरेर अभियोग पत्रसाथ पेश गरिएको थियो। 

आइतबार विशेष अदालतले अधिकारीलाई थुनामा पठाउने र भण्डारीसँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो। भण्डारी ५ लाख धरौटी बुझाएर रिहा हुँदा अधिकारी भने त्यसैदिन डिल्लीबजार कारागार चलान भएका थिए।

अधिकारीसहित ६ जना प्रतिवादीविरुद्ध नलिनचोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad