समाज


१३ वर्षीया बालिकालाई होटेलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा एमाले महाधिवेशन प्रतिनिधि पक्राउ

१३ वर्षीया बालिकालाई होटेलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा एमाले महाधिवेशन प्रतिनिधि पक्राउ

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १२:१७, काठमाडौँ

१३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले एमालेका एक नेतालाई पक्राउ गरेको छ। 

एमाले मधेस प्रदेश कमिटी सदस्य एवं जनकपुर उपमहानगरपालिकाका इन्चार्ज शिवशंकर साह ‘हिरा’लाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

४८ वर्षीय साह विवाहित हुन्। एमाले स्राेतका अनुसार उनी एमालेको आगामी महाधिवेशनका लागि धनुषाबाट प्रतिनिधिसमेत छनोट भएका नेता हुन्। 

धनुषाका डीएसपी गणेशबहादुर बमले नेपालखबरलाई दिएको जानकारी अनुसार बालिका बलात्कारपछि फरार भएका साहलाई भारतीय सुरक्षा निकायसँगको समन्वयमा सीतामढीबाट पक्राउ गरेर मंगलबार राति नेपाल ल्याइएको छ। 

बालिकाका अभिभावकले उजुरी दिएपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेर उनको खोजी गरेको थियो। 

यो प्रकरणमा प्रहरीले बालिकाका एकजना आफन्तलाई पनि पक्राउ गरेको छ। उनले घटनालाई कानुनी दायरामा नलगी मिलाउने प्रयास गरेको र पीडित पक्षबाटै रकमसमेत असुलेको प्रहरीको आरोप छ।

प्रहरीका अनुसार साहले गएको कात्तिक २२ गते जनकपुरको जानकी चोकस्थित एक होटेलमा बन्धक बनाएर १३ वर्ष ४ महिना उमेरकी नाबालिगलाई दुई दिनसम्म बलात्कार गरेको उजुरी परेको छ। 

यो प्रकरणमा जनकपुर उपमहानगरपालिका–१० का मनोजकुमार साहसहित बालिकाका एकजना आफन्त पनि पक्राउ परेका छन्। साहलाई काठमाडौँबाट पक्राउ गरी धनुषा ल्याइएको प्रहरीले जनाएको छ। 

मनोजको बयानका आधारमा प्रहरीले हिराको खोजी अघि बढाएको थियो। उनीहरू नातामा दाजुभाइसमेत हुन्। 

एमाले नेता साह ०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट जनकपुरधाम उपमहानगरमा मेयरका उम्मेदवारसमेत थिए। उनी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष तथा मधेश प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत हुन्। 

एमालेको आसन्न ११औँ महाधिवेशनका लागि उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसमेत छनोट भएका छन्।

उनले बलात्कार जस्तो जघन्य अपराधको घटना बाहिर आउन नदिन र गुपचुपमै मिलाउन आरोपी पक्षले पीडित परिवारलाई ठूलो आर्थिक प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हाल पीडित बालिकालाई सुरक्षित तवरले ‘सेफ हाउस’ मा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बमले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad