उत्कृष्ट कार्य गर्ने ५ जना सशस्त्र प्रहरी कर्मचारीलाई यूएन मिसनमा सिधै सहभागी हुने अवसर दिइएको छ।
सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी विपद्को समयमा निरन्तर खटिई उद्धार गर्ने सशस्त्र प्रहरी कर्मचारी, २०८१ सालमा वर्ष जवान घोषित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई उक्त अवसर दिइएको हो।
सहभागी हुनेहरूमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टले विपद्को समयमा देशका विभिन्न भागमा १९ पटक खटिई १० जनाको सकुशल उद्धार गर्नाका साथै ११ वटा शव निकालेका थिए भने २ पर्यटकको उद्धार गरेका थिए।
यसैगरी सशस्त्र प्रहरी सहायक हवलदार भरत काफ्लेले गत चैत्र १३ गते सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-६ स्थित सेन्टर प्लाजाको चौथो तलामा भएको आगलागीमा फसेका ११ जनामध्ये ५ जनाको रोप रेस्क्यु विधिद्वारा सकुशल उद्धार गर्नाका साथै विभिन्न घटनामा २० पटक खटिई १५ जनाको शव निकालेका थिए।
त्यसैगरी सशस्त्र प्रहरी सहायक हवल्दार मेख बहादुर गुरुङले गोताखोर तालिम प्राप्त गरी १७ वटा तालिममा उत्कृष्ट प्रशिक्षकका रूपमा समेत निरन्तर खटिएका तथा विभिन्न घटना/दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव निकाल्नाका साथै विदेशी नागरिकको उद्धारमा सहभागी भएका थिए।
आपत्विपद्मा परेका नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धारमा उत्कृष्ट काम दर्न सफल भएपछि उत्कृष्ट ‘वर्ष जवान २०८१’ घोषित सशस्त्र प्रहरी सहायक हवलदार किरणबहादुर भण्डारीलाई पनि संगठनको नीतिअनुसार मिसनको अवसर दिइएको छ।
त्यसैगरी सशस्त्र प्रहरी परिचर पुरन राईले नेपाल एपीएफ क्लबका आबद्ध भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देश र संगठनको नाम उच्च राख्दै बक्सिङमा ८ स्वर्ण, ३ रजत र १ कास्य गरी जम्मा १२ वटा पदक प्राप्त गरेका थिए। उनलाई पनि मिसनको अवसर प्रदान गरिएको हो।
लामो समयदेखि सशस्त्र प्रहरी बल नेपालको सुरक्षा फौज संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा नेपाल फर्मड पुलिस युनिट (एफपीयू)मा तैनाथ भइरहेको छ।
सशस्त्र प्रहरी बल, नेपालमा उत्कृष्ट कार्य गर्ने कोटामा भीआईपी कोटा भनी पहुँचका आधारमा मिसन जाने परिपाटीको अन्त्य भई यसपटक उत्कृष्ट कार्य गरेका सशस्त्र प्रहरी कर्मचारीमध्ये विपद् उद्धार र खेलकुदतर्फ उत्कृष्ट प्रदर्शन गरेकाहरू छनोटमा परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवक्ता मनीष थापाको भनाइ छ।
यसले सशस्त्र प्रहरी कर्मचारीहरूमा हौसला बढेको उनले बताए।
Shares

प्रतिक्रिया