समाज


त्रिविको ५१औँ दीक्षान्त समारोह पुस १० मा, नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी आउने

त्रिविको ५१औँ दीक्षान्त समारोह पुस १० मा, नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी आउने

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १६:३१, काठमाडौँ

नेपालको सबैभन्दा पुरानो तथा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो५९औँ दीक्षान्त समारोह यही पुस १० गते (२५ डिसेम्बर) मा काठमाडौँस्थित दशरथ रंगशालामा गर्ने भएको छ। 

यो दीक्षान्त समारोह त्रिविको शैक्षिक यात्रामा एक महत्वपूर्ण, ऐतिहासिक तथा गौरवपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास गरिएको त्रिविले जनाएको छ।

२०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तहमा गरी जम्मा उत्तीर्ण ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागी हुने भएका छन्। उनीहरुले समारोहमा भाग लिन औपचारिक रूपमा आवेदन दिएका हुन्।

आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना रहेका छन् ।

साथै, २३ हजार ९८० जना अभिभावक/संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन्। आमन्त्रित अतिथि तथा अन्य सहभागीहरू समेत करिब ४२ हजार जनाको उपस्थिति रहने अनुमान गरिएको छ। जसले यस दीक्षान्त समारोहलाई त्रिविको इतिहासकै सबैभन्दा ठूलो समारोहमध्ये एक बनाउने त्रिविको भनाइ छ।

यस समारोहमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गरिनेछन्। साथै, कार्यक्रममा ४९ जना सिनेट सदस्यहरू गाउनसहित औपचारिक पोशाकमा सहभागी हुनु यस समारोहको एक प्रमुख आकर्षणका रूपमा रहनेछ ।

अन्तर्राष्ट्रिय शैक्षिक मूल्याङ्कनका सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले पछिल्ला वर्षहरूमा विश्वस्तरीय उपस्थिति जनाउँदै आएको छ। टाइम्स हाइअर एजुकेसन (टीएचई) वर्ल्ड युनिभर्सिटी र्‍या‌ंकिङ २०२५ अनुसार त्रिभुवन विश्वविद्यालय १५०१ + समूहमा सूचीकृत रहेको छ भने एससीआईमागो इन्स्टिच्युसन्स र्‍यांकिङमा १३०० को आसपासको स्थानमा रहेको छ।

‘यी मूल्याङ्कनहरूले शिक्षण वातावरण, अनुसन्धान उत्पादन, उद्धरण प्रभाव तथा अन्तर्राष्ट्रिय पहुँचका आधारमा विश्वविद्यालयको अवस्थालाई प्रतिविम्बित गर्दछन्’, त्रिविले भनेको छ, ‘यस्ता ऱ्याङ्किङले त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय पहिचानलाई पुष्टि गर्नुका साथै आगामी दिनमा अनुसन्धानको गुणस्तर, नवप्रवर्तन र वैश्विक प्रतिस्पर्धात्मकता थप सुदृढ गर्नुपर्ने दिशातर्फ संकेत गर्दछन्।’

यो वर्षको अन्तर्राष्ट्रिय विश्वविद्यालय र्‍यांकिङमा नेपालबाट केवल त्रिभुवन विश्वविद्यालय मात्रै सूचीबद्ध भएको छ। यद्यपि यस वर्षको र्‍यांकिङले त्रिविको अन्तर्राष्ट्रिय उपस्थितिलाई प्रष्ट पार्ने जनाउँदै त्रिविले यसका शैक्षिक तथा अनुसन्धानगत क्षमताको सकारात्मक प्रमाण पेश गरेको दाबी गरेको छ। 

नोबेल पुरस्कार विजेता आउने
यस५१औँ दीक्षान्त समारोहको विशेष आकर्षणका रुपमा जापानका भौतिक शास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता व्यक्तित्वको उपस्थिति हुन लागेको हो। यसले त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा, विश्वस्तरीय पहुँच तथा शैक्षिक उत्कृष्टतालाई उजागर गर्न सहयोग पुर्याउने त्रिविले जनाएको छ।

यस समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा नेपाल सरकारका प्रधानमन्त्री विज्ञान सुशीला कार्कीले गर्नेछिन्। उनी नेपालको इतिहासकी पहिलो महिला प्रधानमन्त्री पनि हुन्। शिक्षा, तथा प्रविधि मन्त्री तथा त्रिवि सहकुलपति महावीर पुन विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक आर्यालको विशेष अतिथिका रूपमा उपस्थिति रहने त्रिविले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad