नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल-आसियान पर्यटन वर्ष २०२६’ मनाउने घोषणा गरेको छ।
स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन्। हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेको उनले बताए।
‘बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिनेछ’ उनले भने।
उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले बोलेका थिए।
कार्यक्रममा बोल्दै जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको बताए। जेनजी आन्दोलनपछिको अवधिमा ८ वटा मुख्य पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत पर्यटन प्रवर्द्धन, ९ भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पर्यटन पूर्वाधार विकास, तथा पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा कार्यक्रम तथा विकास गतिविधि सञ्चालन गरिएको उनले जानकारी दिए।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रबर्द्धनका माध्यमबाट मुलुकको छविलाई उचो बनाउन गरेको योगदानको प्रशंसा गरे। ‘सीमित बजेट र स्रोतका बाबजुद पर्यटन बोर्डले गरेको उल्लेखनीय योगदान हासिल गरेको छ। पर्यटनका माध्यमबाट दिगो विकासमा बोर्डको भूमिका महत्त्वपूर्ण छ,’ सिन्हाले भने।
त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपाल केवल गन्तव्य मात्र नभएर अनुभव संग्रह गर्ने, प्रकृतिमा रमाएर सांस्कृतिक विविधता अवलोकन गर्ने विशिष्ट मुलुक भएको उल्लेख गरिन्।
नेपाल पर्यटन बोर्डका अध्यक्षसमेत रहेका पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको पर्यटन प्रबर्द्धानत्मक गतिविधि निर्वाध अघि बढाउन आएका कानूनी तथा नीतिगत झञ्झटहरू फुकाउन आफू तयार रहेको जानकारी दिए।
Shares

प्रतिक्रिया