समाज


भीमफेदी दुर्घटना अपडेट: यी हुन् ६ मृतक र घाइते (नामावली)

भीमफेदी दुर्घटना अपडेट: यी हुन् ६ मृतक र घाइते (नामावली)

सुनिता विष्ट
पुस २१, २०८२ सोमबार ७:४३, काठमाडौँ

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा मृत्यु भएकामध्ये अहिलेसम्म चार जनाको मात्रै पहिचान खुलेको छ। 

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना।१ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १ सय  मिटर तल खोल्सामा खस्दा ६ जनाको मृत्यु भएको थियो।
 
अहिलेसम्म पहिचान भएका मृतकहरूमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने ४० वर्षीया सबिता लम्साल, हेटौँडा–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार राज्य बेगुसराई बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार र भारत बिहार राज्य पटना घर भएका ४२ वर्षीय रजनीस कुमार छन्।

दुर्घटनामा ज्यान गुमाउने दुई जना पुरुषको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

अन्दाजी ३६ वर्ष र ४० वर्ष उमेरका दुई पुरुषको पहिचान खुल्न बाँकी छ। 

दुर्घटनामा घाइते भएकामध्ये सुमो चालक गणेश थापा र १२ वर्षीय अभ्यास लम्सालको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ। 

अन्य एक घाइते २१ वर्षीया रिचा चौधरीको अवस्था मध्यम रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको कमाण्डमा ट्राफिकसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो। 

प्रहरी र स्थानीयको सहयोगमा सुमोमा सवार ९ जनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो।

हेटौँडा अस्पतालमा उपचारका क्रममा चिकित्कसले ६ जनालाई मृत घोषणा गरेका हुन्।

दुर्घटनाको खबरपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा पनि पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad