डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई दुर्व्यवहार गर्नेहरूलाई कारबाहीको माग गर्दै बिहीबारदेखि आकस्मिकबाहेकका सेवा बन्दको घोषणा गरिएको छ।
बुधबार साँझ अस्पताल विकास समितिले प्रेस विज्ञप्ति जारी गरी घटनामा संलग्न व्यक्तिलाई तत्काल कारबाहीको माग गरेको छ। ‘दोषीलाई तत्काल कानूनी दायरामा नल्याएसम्म यस घटनाले कमजोर बनाएको कर्मचारीको मनोबललाई मध्यनजर गरि भोलि मिति २०८२/०९/२४ गतेदेखि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक अन्य सेवा पूर्ण रुपमा बन्द हुने ब्यहोरा जानकारीसहित यो प्रेस विज्ञप्ति जारी गरिन्छ,’ अस्पताल विकास समितिले भनेको छ।
बुधबार दिउँसो नेकपा बहुमतका कार्यकर्ताले अस्पताल विकास समितिका अध्यक्ष ओझालाई दुर्व्यवहार गरेका थिए। कार्यकक्षमै पुगेर उनीहरूले मोसो छ्यापेका थिए।
यस घटनाले कर्मचारीको मनोबल गिराएको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालको सेवा प्रवाह तथा अस्पतालमा कार्यरत सबै तहका कर्मचारीहरू र पदाधिकारीहरूको मनोबल गिराउने र अस्पतालको सेवा प्रवाहमा थप असर हुने सिवाय अरु केही उपलब्धि हासिल हुने छैन, यस्तो विषयम घडीमा उच्च नैतिक मूल्य र मान्यता कायम गर्दै अस्पताल परिवारको पक्षमा उभिन सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गर्दछौँं।’
यससँगै अस्पताल विकास समितिले घटनामा दोषीलाई कारबाही गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको छ। साथै भविष्यमा यस्ता घटना हुन नदिने गरी सुरक्षाको व्यवस्था गर्न पनि माग गरिएको छ।
Shares

प्रतिक्रिया