काठमाडौँको ठमेलस्थित वाल्डो क्यासिनोमा बाहिरैबाट तास देखिने लेन्स आँखामा लगाएर खेल्ने चार भारतीय कारागार चलान भएका छन्।
यसरी खेल्ने र खेलाउने कार्य गरेर उनीहरूले ठगी गरेको आरोपमा प्रहरीले चार भारतीय, एक चिनियाँ नागरिक र दुई जना नेपालीलाई पक्राउ गरेको थियो।
जिल्ला अदालत काठमाडौँले अरुलाई धरौटीमा रिहा गर्न र चार भारतीयलाई पुर्पक्षका लागि कारागार चलान गर्न बुधबार आदेश दिएको हो।
भारतीय नागरिकहरु उत्तर पश्चिम दिल्ली, रोहिणी सेक्टर १७ का ५७ वर्षीय सुरेश महाजन, उत्तराखण्ड, विकासनगर, देहरादून स्थायी ठेगाना भएका ३९ वर्षका प्रमोद मौर्य, ३२ वर्षका विक्रम सिंह र हरियाना प्रदेश कर्नाल जिल्ला किशानवस्ती निलोखेरी स्थायी ठेगाना भएका ३७ वर्षका दिनेश बर्मा कारागार चलान भएका हुन्।
सुनसरी रामधुनी नगरपालिका ८ की ३५ वर्षकी चिजा खड्का र काठमाडौँको टोखा नगरपालिका ८ बानियाटारकी ४० वर्षकी भवानी पाण्डे एक/एक लाख धरौटी बुझाएर छुटेका छन्।
चिनियाँ नागरिक ७५ वर्षका क्यासिनो सञ्चालक चान मान चिङ ५ लाख धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी प्रहरी काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
Shares

प्रतिक्रिया