समाज


बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

नेपालखबर
पुस २४, २०८२ बिहिबार १७:३८, बाँके

जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई उनकी ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको नामबाट नागरिकता प्रदान गरिएको हो। नागरिकता प्राप्त गरेपछि आफूलाई राज्यको वास्तविक नागरिक भएको अनुभूति भएको गोडीयाले बताए।

‘१७ वर्षको उमेरदेखि निरन्तर खेलकुदमा सक्रिय छु, विसं २०८० मा काठमाडौँमा सम्पन्न अन्तर नगरपालिका राष्ट्रिय खेलकुद तथा २०८१ मा चितवनमा भएको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएँ, तर कागजातको अभावले धेरै अवसर गुमाउनुपर्‍यो’, उनले भने। नागरिकता प्राप्त भएपछि जीवनको ठूलो बाधा हटेको महसुस भएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी तामाङले संविधान तथा प्रचलित कानुनअनुसार नागरिकको पहिचान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै नागरिकका हकअधिकार सुनिश्चित गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनका अनुसार नागरिकता वितरण प्रक्रियालाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री बनाउँदै नागरिकका समस्या संवेदनशीलतापूर्वक सम्बोधन गरिँदै आएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै नागरिकका गुनासो तत्काल सम्बोधन गर्ने नीति लिएको जनाएको छ। कार्यालयभित्र अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्दै नागरिकको समय र श्रमको सम्मान गर्ने कार्यसंस्कृति विकास गरिँदै आएको प्रशासनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad