सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोर निवासी रामेश्वर महतोको हत्या छिमेकी युवकबाटै भएको ठहर प्रहरीले गरेको छ।
यही पुस १९ गते ईश्वरपुर नगरपालिका- २ राइटरखोट निवासी ५२ वर्षीय महतोको सागरनाथ परियोजनाको जंगलमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। महतो परियोजनाका ज्यालादारी मजदुर (वन हेरालु चौकीदार) थिए।
महतोको हत्या छिमेकी ३५ वर्षीय रामवली महतोबाट भएको ठहर प्रहरीले गरेको हो।
रामबलीलाई प्रहरीले घटनाको भोलिपल्टै पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। घटनाको पाँच दिनपछि प्रहरीले आरोपीलाई सार्वजनिक गर्दै घटना विवरणसमेत सार्वजनिक गरेको छ।
‘घटना अनुसन्धानको क्रममा रामवलीले रामेश्वरलाई मार्छु भनेर धम्की दिँदै आएको पनि खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले भने, ‘आरोपीलाई अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरेर हिरासतमा राखेका छौँ।’
प्रहरीकाअनुसरा पुस १९ गते बिहान पाँच बजे परियोजनाको चौकीदार रामेश्वर महतो कोइरी आफ्नो घरबाट भक्तिपुरको प्लट नम्बर १० को जङ्गलमा साइकलमा चढे एक्लै गस्ती गएका थिए।
उनी घरबाट निस्केपछि परिवारका व्यक्तिहरूले रामेश्वरलाई पटक पटक फोन गर्दा फोन लागे पनि उठेको थिएन। त्यसको केही समयपछि फोनसमेत स्वीच अफ भएको थियो।
फोन अफ भएपछि परिवारका व्यक्तिहरूले खोजतलास गर्दै जाँदा ईश्वरपुर २ राईटरखोरघाट टोलको सागरनाथ वन विकास परियोजना भक्तिपुरको प्लट नम्बर १० को जङ्गलमा रहेको बनमाराको झाडीमा पुस १९ गते राति रामेश्वरको शव भेटिएको थियो।
घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएका थिए।
खोजतलास र अनुसन्धानुको क्रममा घटनास्थलबाट ७७ मिटर पूर्वतर्फ ‘नेकिसो’ लेखिएको कालो रंगको एकजोर चप्पल र रगत लागेको बन्चरो फेला परेको थियो।
स्थानीयले त्यतिबेलै उक्त चप्पल र बन्चरो रामेश्वरकै छिमेकी युवक रामवली महतोको भएको जानकारी प्रहरीलाई गराएका थिए।
‘रामवलीले यस्तै चप्पल लगाउने गरेको र जङ्गलमा काठ दाउरा काटन जाँदा यही बन्चरो बोकेर जाने गरेको’ भन्दै स्थानीयले रामवलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न सुझाव दिएका थिए।
त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी तत्कालै रामवलीको घरमा प्रहरी पुगेको थियो। प्रहरी पुग्दा रामवली पनि घरमै थिए। प्रहरीले तुरन्तै उनलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा उनी सुत्ने कोठाभित्र काठको हेङगरमाथि ज्याकेट र जिन्स पाइन्ट फेला परेको थियो।
त्यो ज्याकेट र पाइन्टको अगाडीको भागमा रगत जस्तो रातो पदार्थ लागेको दागका छिटाहरु थिए। ती कपडाहरु कानून बमोजिम बरामद गरेर प्रहरीले आरोपीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो।
आरोपी र मृतकको बारेमा अनुसन्धान गर्दै जाँदा रामवली महतोले धेरै पटक जंगलमा गएर टिक र मसलाको रुख काटी चोरी गरेको खुलेको छ।
रामवलीले त्यसरी काठ चोरी गर्दा रामेश्वरले फेला पारी पटकपटक सम्झाई बुझाईसमेत गरेका थिए।
एकपटक काठ काट्दै गरेको बेला रामबलीलाई पक्राउ गर्न खोज्दा रामबली र चौकीदार रामेश्वरबीच जंगलमा लछार पछारसमेत भएको थियो।
घटना हुनुभन्दा ४/५ दिन अगाडी रामेश्वरले रामबलीको घरमा राखिएको दाउरा उठाएरसमेत लगेका थिए। उनले परियोजनाबाट चाेरेर ल्याएको काठदाउरा भन्दै ती दाउरा उठाएका थिए।
त्यतिबेला रामवलीले रामेश्वरलाई मार्छु काट्छु भनी धाक धम्कीसमेत दिएको खुलेको छ। तँलाई काट्छु, मार्छु भनेर धम्की दिन रामवलीले नै रामेश्वरकाे हत्या गरेको निष्कर्ष प्रहरीले निकालेकाे छ।
Shares

प्रतिक्रिया