समाज


चुनावमा घृणायुक्त अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह

चुनावमा घृणायुक्त अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह

नेपालखबर
माघ १३, २०८२ मंगलबार १३:५६, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगले चुनावका क्रममा घृणायुक्त अभिव्यक्ति नदिन र त्यस्ता अभिव्यक्तिको प्रचारप्रसार नगर्न आग्रह गरेको छ। 

मंगलबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गरी चुनावी प्रचारका क्रममा आइरहेका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। आयोगले भनेको छ, ‘आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकअर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्तिहरू दिने तथा एक अर्काप्रति गरिएको अमर्यादित आरोपप्रत्यारोपप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।’

घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनको समयमा शान्ति सुरक्षामा समेत असर पर्ने आयोगले सचेत गराएको छ। ‘नेपालको संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए पनि अरुको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन,’ आयोगले भनेको छ, ‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले सधैँ ध्यान पु¥याउनु आवश्यक हुन्छ।’

आयोगले घृणायुक्त अभिव्यक्ति नदिने सबैलाई आग्रह गरेको छ। ‘कसैले पनि नेपालको संविधान, कानून र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवम् मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषाको प्रयोग गर्न, घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोग राजनीतिक दलका नेता, उम्मेदवार एवम् सर्वसाधारणलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

यससँगै घृणाजन्य अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्तिसुरक्षामा समेत चुनौती सिर्जना गर्नसक्ने हुँदा शान्ति सुरक्षालाई थप मजबुत बनाउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad