समाज


मधेसका ८ जिल्लाको जिम्मा ३ एसएसपीलाई, सर्लाहीमा कमल थापा

मधेसका ८ जिल्लाको जिम्मा ३ एसएसपीलाई, सर्लाहीमा कमल थापा

उजिर कार्की
माघ १९, २०८२ सोमबार १९:४१, काठमाडौँ

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन सुरक्षाका लागि मधेस प्रदेशमा तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई जिम्मेवारी बाँडफाँट गरिएको छ। निर्वाचन पहिलेबाटै प्रदेशका ८ वटा जिल्लाको सुरक्षा अवस्था अनुगमन तथा योजना बनाउनका लागि तीन एसएसपीलाई खटाइएको हो। 

प्रदेश प्रहरी कार्यालयका एसएसपी कमल थापा, प्रदेश तालिम केन्द्र राजविराजका भीमबहादुर दाहाल र संघीय प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसएसपी शान्तिराज कोइरालालाई ८ वटा जिल्लाको निरीक्षण गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको हो। 

सिरहा र सप्तरीमा भीमबहादुर दाहाल, बारा, पर्सा र रौतहटमा शान्तिराज कोइराला, धनुषा, महोत्तरी र सर्लाहीमा कमल थापालाई खटाइएको हो। 

मधेसका ८ वटै जिल्लामा एसपीले सुरक्षा कमान्ड गर्छन्। चार वटा जिल्लामा भने बढी सुरक्षा चुनौती रहेको आकलन छ। मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार सिरहा, सर्लाही, रौतहट र पर्सालाई बढी सुरक्षा चुनौती रहेका जिल्लाका रूपमा लिइएको छ। 

सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगन थापा चुनावी प्रतिस्पर्धामा छन्। उनको प्रतिस्पर्धा कांग्रेसकै पूर्वसांसद अमेरश सिंहसहितसँग हुँदैछ। गगन जाँदा त्यहाँ सुरक्षा चुनौती बढेको हो। अघिल्लो चुनावमा टिकट नपाएपछि अमरेशले कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। तर यसपटक उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। 

रौतहटमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चुनावी मैदानमा छन्। दल परिवर्तनका कारण पनि त्यहाँ चुनौती थपिएको सुरक्षा विश्लेषण छ। पर्सामा दल परिवर्तनसँगै पछिल्ला धार्मिक हिंसाले चुनौती थपिएको सुरक्षा अधिकारीहरूको बुझाइ छ। 

यी चुनौतीपूर्ण जिल्लाहरूमा थप निगरानी बढाउने र परिस्थिति अनुसार तत्काल मुभ हुन र समन्वय गर्नका लागि एसएसपी खटाइएको डीआईजी थपलियाले बताए। 

प्रहरी प्रधान कार्यालयले भने चुनौतीपूर्ण मानिएका जिल्लामा आवश्यक परे एसएसपीकै कमान्डमा टोली परिचालन गर्नेसम्मको तयारी गरेको छ। तर अहिलेकै अवस्थामा मधेस प्रदेशमा थप उच्च अधिकारी आवश्यक नपर्ने थपलियाले बताए। 

‘अहिलेकै अवस्थामा थप उच्च अधिकारी आवश्यक पर्दैन। आवश्यकता अनुसार जनशक्ति म्यानेज गरिरहेका छौँ। तर कतिबेला परिस्थिति के हुन्छ भन्ने ठेगान हुँदैन। त्यस्तो अवस्थामा थप उच्च अधिकारीसहित जनशक्ति थप गर्नुपर्ने पनि हुनसक्छ,’ थपलियाले नेपालखबरसँग भने।

अहिले जिम्मेवारी दिइएका एसएसपीहरूले भने आआफ्नो जिल्लाको सुरक्षा अवस्था निरीक्षण गर्ने र माथिल्लो तहमा रिपोर्टिङ गर्ने तथा मातहतलाई निर्देशन दिने काम गर्नेछन्। हरेक निर्वाचनमा मधेसलाई सुरक्षा चुनौती बढी रहेको निर्वाचन क्षेत्रका रूपमा हेरिन्छ। विगतका निर्वाचनमा भएका घटनाहरूलाई लिएर सोही अनुसारको सुरक्षा योजना बनाइएको दाबी सुरक्षा निकायको छ। 

मधेसमा पहिलेका निर्वाचनमा भएका घटनासँगै भारतसँग रहेको खुला सिमानाका कारण पनि बढी चुनौती रहेको विश्लेषण छ। यहाँ घटना घटाउन भारतबाट मान्छे आउन सक्ने र घटना घटाएर फेरि उतै भाग्न सक्ने भएकाले बढी चुनौती मानिएको हो। तर यस्ता गतिविधि रोक्नका लागि नेपाल प्रहरीले भारतीय सुरक्षा निकायसँग पनि विभिन्न चरणमा छलफल गरिरहेको छ। निर्वाचनको समयमा सीमा नाका नै बन्द गरेर निगरानी बढाउने गरिएको छ। 

मधेसका ३२ निर्वाचन क्षेत्रमा २ हजार १६० मतदानस्थल रहेका छन्। यी मतदानस्थलमा ४ हजार ४७१ मतदान केन्द्र छन्। यीमध्ये अति संवेदनशील मतदानस्थल १ हजार २३७ र संवेदनशील ७६३ वटा रहेका छन्। बाँकीलाई सामान्य रूपमा वर्गीकरण गरिएको छ। तर, परिस्थिति अनुसार सुरक्षा चुनौती थपघट हुनसक्नेछ। 

मधेसमा ३६ लाख ३६ हजार ४१४ मतदाता छन्। ३२ वटा निर्वाचन क्षेत्रमा १ हजार २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये ५५५ जना स्वतन्त्र छन्। 

निर्वाचनमा नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन हुनेछ। नेपाली सेना निर्वाचनको एक महिनापहिले माघ २१ गतेबाट परिचालन हुने तयारी छ। त्यसपछि गस्ती र पेट्रोलिङ थाल्ने सेनाले निर्वाचनको मत परिणाम आएर सुरक्षा अवस्था सामान्य भएपछि मात्रै ब्यारेकमा फर्किने छ। अहिले पनि मतपत्र छपाइ लगायतका काममा सेना खटिएको छ। 

मतपत्र ढुवानीमा सुरक्षा, मतदानपछि मतपेटिका ढुवानी लगायतका काममा पनि सेनाले सुरक्षा दिनेछ। निर्वाचनमा तेस्रो घेरामा खटिँदै आएको सेनाले आवश्यक परे सम्बन्धित निर्वाचन अधिकृत र अन्य सुरक्षा निकायको समन्वयमा थप जिम्मा लिनेछ। 

अब देशभरका विमानस्थल र कारागारको सुरक्षा जिम्मा पनि निर्वाचन अवधिभर नेपाली सेनाकै हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad