झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट खैरो हिरोइनसहित विमानस्थलबाट एक युवती पक्राउ परेकी छन्।
यति एयरलायन्सको उडान नम्बर ९२६ बाट काठमाडौँ जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेकी झापा प्रहरीले जनाएको छ।
भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रुपमा कार्यरत उनलाई विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनलाई जाँच गर्दा सुरुवालको दुवै गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन लुकाएर राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनको बयानका आधारमा लागूऔषध कारोबारको गिरोहमा संलग्न थप दुई व्यक्तिलाई काठमाडौँमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
Shares

प्रतिक्रिया