सन् १८८० तिर युरोपमा ‘कोका’ बिरुवाबाट निस्कने ‘कोकिन’ले थकाइ र दुखाइ कम गर्ने हल्ला फैलिएको थियो। त्यसपछि युरोपका धेरै देशहरूले ‘कोका’लाई कानुनी रूपमा प्रयोग गर्न स्वीकृत दिएका थिए।
सो समय अष्ट्रियाका स्नायुरोग विशेषज्ञ सिग्मन्ड फ्रायडले कोकिनको औषधीय प्रभावकारिताबारे अध्ययन थाले। फ्रायड आफैँले पनि कोकिन प्रयोग गरेर कोकाको पातको औषधीय सम्भावनाबारे खोजी गरे। उनले कोकिनले थकान, दुखाइ र डिप्रेसन कम गर्ने भन्दै ‘उबर कोका’ नामको शीर्षकमा लेख प्रकाशित पनि गरे।
फ्रायड सो खोजमा तल्लीन हुँदा उनका साथी एन्स्र्ट भोन फ्लाइसल–माक्सो भने फिजियोलोजिस्ट थिए। माक्सोको ल्याबमा काम गर्दा औँलामा चोट लागेको थियो। चोटका कारण उनको दाहिने हातको औँलामा संक्रमण भएको थियो।
संक्रमण बढ्दै जाँदा उनको औँला नै काटेर फाल्नु पर्यो। औँला काटे पनि दुखाइ कम भएन। जसकारण उनलाई असह्य पीडा हुन्थ्यो, रातभरि सुत्न सक्दैनथे।
दुखाइ कम गर्न उनले मोर्फिन नामक औषधि प्रयोग गर्न थाले। मोर्फिनले उनको दुखाइ त कम भयो। तर खान छोड्दा दुखाइ सुरु हुन्थ्यो। विस्तारै उनलाई मोर्फिनको लत नै लाग्यो।
सो समय नै फ्रायडले ‘कोका’ बिरुवाको पातबाट बनाइने कोकिन औषधिको प्रभावकारिताबारे पुस्तक प्रकाशन गरेका थिए। र, फ्रायडले मोर्फिनको लत कम गराउन ‘कोकिन’ प्रयोग गर्न साथी माक्सोलाई सुझाए। माक्सोले कोकिन प्रयोग गर्न थाले। उनलाई कोकिनको पनि लत लाग्न थाल्यो। कोकिनको अत्यधिक प्रयोगले माक्सोको मृत्यु भयो।
कोकिनको प्रयोगले साथीको मृत्यु भएपछि फ्रायड मानसिक रूपमा विचलित बने। त्यो घटना फ्रायडको जीवनमा मात्र नभई मनोचिकित्सा क्षेत्रकै लागि नयाँ मोड बन्न पुग्यो।
को हुन् विश्वविख्यात सिग्मन्ड फ्रायड?
विश्व चर्चित मनोचिकित्सक फ्रायड ‘मनोविश्लेषण’ नामक चिकित्सा पद्धतिको आविष्कारक समेत हुन्। उनको जन्म सन् १८५६ मा अष्ट्रियाको फ्राइबर्ग सहरमा भएको थियो। उनको पूरा नाम सिग्मन्ड श्लोमो फ्रायड हो।
फ्रायडको जन्म विपन्न यहुदी परिवारमा भएको थियो। फ्रायडका बुवा याकोब फ्रायड ऊनको व्यापारी थिए भने आमा गृहिणी थिइन्।
फ्रायड बुवाभन्दा आमासँग धेरै नजिक थिए। बुवालाई व्यापारमा घाटा भएपछि उनको परिवारमा आर्थिक संकट पर्न थाल्यो। फ्रायड ४ वर्षको हुँदा उनीहरू फ्राइबर्ग सहर छोड्न बाध्य भए। उनको परिवार फ्राइबर्गबाट भियना भन्ने सहरमा सरेको थियो। जहाँ उनले जीवनको अधिकांश समय बिताए।
सानैदेखि चलाख र बौद्धिक कुरा गर्ने फ्रायडले परिवारबाट नै धेरै कुरा सिकेका थिए। उनका बुवा कठोर, अनुशासनप्रिय र अधिनायकवादी सोचका थिए। जसले फ्रायडमा विद्रोही स्वभाव विकास भएको थियो। फ्रायड पढाइमा पनि अब्बल थिए। सन् १८८१ मा भियना विश्वविद्यालयबाट चिकित्साशास्त्रमा स्नायु सम्बन्धी रोगमा उनले विशेषज्ञता हासिल गरे।
फ्रायडले भियना अस्पतालमा नै पक्षघात र मस्तिष्कघातका बिरामीको उपचार गर्न थाले। सो समयमा उनले कोकिन औषधिको रूपमा प्रयोग गर्न सकिने अनुसन्धान गरेका थिए। तर कोकिनको प्रयोगले साथीको मृत्यु भएपछि उनको चिकित्सायात्रा मोडिन पुग्यो। स्नायुरोगमा उनको रुचि कम हुँदै गयो।
माक्सोको मृत्युपछि फ्रायडलाई काममा मन लाग्न छाडेको थियो। फ्रायड सो समय ‘हिस्टेरिया’ भनेर चिनिएको (कन्भर्सन डिसअर्डर) समस्याको उपचारमा लागेका चिकित्सक जिन मार्टिन चारकोटसँग संगत गर्न थाले। चारकोटले ‘कन्भर्सन डिसअर्डर’ जस्ता मानसिक रोगको उपचार र अनुसन्धान गर्थे।
कुनै स्पष्ट लक्षण र रोग बिना मानिसहरू बिरामी परेको देखेर फ्रायडलाई यो विषयमा रुचि बढ्दै गयो। चारकोटको कामले फ्रायडलाई मानसिक अवस्थाले शारीरिक समस्या कसरी उत्पन्न गर्छ भन्नेमा रुचि जगायो। उनी सन् १८८५ मा चारकोटसँग मानसिक समस्या र ‘कन्भर्सन डिसअर्डर’ बारेमा अध्ययन गर्न फ्रान्सको पेरिस पुगे।
त्यहाँ उनले १ वर्ष मनोचिकित्सा विषय पढे। फ्रायडले मानिसको मन र अवचेतन अवस्था पनि रोगको कारण हुन सक्छ भन्ने पत्ता लगाए। सन् १८८६ मा उनी भियना फर्किए। अनि मानसिक रोग क्लिनिक खोलेर मानसिक रोगीको उपचार सुरु गरे।
फ्रायडको मनोचिकित्सा सिद्धान्त
फ्रायडले क्लिनिकमा फरक–फरक मानसिक अवस्थाका बिरामी भेटे। उनले बिरामीलाई भएको समस्याबाट सपनाको रहस्य पत्ता लगाउन खोजे।
उनले सपनाभित्र पनि मानिसका चाहना लुकेका हुन्छन्, मनमा दबिएर बसेको इच्छाले मानिसलाई कसरी असर गर्छ भनेर पत्ता लगाउन सुरु गरे। उनले मनको संरचनालाई विभाजन गरेर मनोविश्लेषण सिद्धान्त प्रतिपादन गरे। जसमा सबैभन्दा धेरै चर्चा अवचेतन मनको सिद्धान्तले पाएको छ।
फ्रायडले अवचेतन मन, यौनिकता, सपनाबारे अध्ययन गर्न थाले। उपचारमा आएका बिरामीबाट नै उनले धेरै सिद्धान्त प्रतिपादन गरेका छन्। उनले मनमा दबिएर रहेका इच्छा, डर, कौतुहलता, भावना र कुनै घटना पनि मानसिक रोगको कारण बन्न सक्छ भन्ने पत्ता लगाए।
फ्रायडका अनुसार हाम्रो व्यवहार, धारणा, अवचेतन मनले नियन्त्रण गर्छ। अवचेतन मनमा लुकेका चाहनाहरू, डर र बाल्यकालका सम्झनाहरू हुन्छन्। जसले मानव जीवनमा असर पार्छ भनेर व्याख्या गरेका छन्। उनले दबिएका इच्छा, भावना र अनुभव सपना मार्फत प्रकट हुन्छन् भन्दै सपना अवचेतन मनको झ्याल हो भन्दै व्याख्या गरेका छन्। फ्रायडले यो विषय सन् १८९९ मा प्रकाशित ‘द इन्टरप्रिटेसन अफ ड्रिम्स’ पुस्तकमा व्याख्या गरेका छन्। उनलाई मनोचिकित्सा र मनोविज्ञानको क्षेत्रमा यही पुस्तकले स्थापित गरायो। किताबमा उनले सपनाले मानिसलाई कति असर गर्छ भन्ने उल्लेख गरेका छन्।
यस्तै मानसिक रोगको पहिचान र उपचारमा आधुनिक जग बसाल्न सफल उनको मनको संरचनाको सिद्धान्त पनि चर्चित छ। जसमा उनले मनलाई तीन भागमा विभाजन गरेका छन्। इड, इगो र सुपर इगो। मनका यी तीन तत्वबीच द्वन्द्व हुन्छ। र, यसले मानसिक समस्या निम्त्याउने भन्दै उनले व्याख्या गरेका छन्।
फ्रायडको अर्को चर्चित सिद्धान्त हो मनोलैंगिक सिद्धान्त। मानिसको व्यक्तित्वको विकास बाल्यकालदेखि नै पाँच चरणमा हुन्छ र यदि कुनै चरणमा समस्या भए त्यसले वयस्क उमेरमा असर देखिन्छ भनेर उनले भनेका छन्। उनले १ वर्षको उमेरदेखि किशोर अवस्थासम्मको विकासक्रमबारे व्याख्या गरेका छन्। यी विचारले फ्रायडलाई निकै चर्चित बनायो।
उनले पहिलो पटक मानिसको मनको जटिलता, मनमा लुकेका तथ्यलाई वैज्ञानिक ढंगले व्याख्या गरे। उनले मानसिक समस्यालाई वैज्ञानिक रूपमा व्याख्या गरे र सपनाको व्याख्या गर्दै फ्रायडले सपनामा कुण्ठाको पूर्ति हुने पत्ता लगाए।
फ्रायडका अनुसार हाम्रो भावना, व्यवहार अवचेतन मनले नियन्त्रण गर्छ। अवचेतन मनमा डर, बाल्यकालका सम्झनाहरू हुन्छन्। तर उनले गरेका व्याख्याको आलोचना समेत भएको छ। धेरै चिकित्सकले उनको कुरालाई अस्वीकार गरेका छन्।
जिन मार्टिनले सन् १९६० मा भने हिस्टेरियालाई न्युरोलोजिकल डिसअर्डर भनेका थिए। उनले ‘हिप्नोसिस’ प्रयोग गरी हिस्टेरियाका लक्षणहरू नियन्त्रण गर्न सकिने जनाएका थिए। तर फ्रायडले हिस्टेरिया अवचेतन मनमा दबिएर भावनात्मक तनावका कारण देखिने समस्या भन्दै व्याख्या गरेका थिए।
‘हिस्टेरिया’ शब्द यौन कुण्ठासँग जोडिने भएकाले अहिले यसलाई ‘कन्भर्सन डिसअर्डर’ भनिन्छ।
फ्रायडले धेरै भावनात्मक प्रक्रिया सामान्यतया चेतन अवस्थामा नदेखिने भन्दै व्याख्या गरेका छन्। उनले मानसिक रोगलाई हेर्ने दृष्टिकोण नै बदलिदिए।
इच्छा मृत्यु रोजेका फ्रायड
मनोविश्लेषक फ्रायड धूमपान गर्थे। अत्यधिक धूमपानका कारण उनलाई सन् १९२३ मा मुखको क्यान्सर भयो। क्यान्सरसँगको लडाइँ उनको १६ वर्षसम्म चल्यो। फ्रायडले १६ वर्षमा मुखको धेरै पटक शल्यक्रिया गरियो। शल्यक्रियाको पीडा फ्रायडलाई असह्य हुँदै गएको थियो। खान, निल्न र बोल्न नसक्ने भएका थिए।
सन् १९३८ मा नाजीहरूले अष्ट्रिया कब्जा गरेपछि फ्रायड लन्डन बस्न थालेका थिए। आफ्नो देश छोड्नु परेको पीडा र रोगका कारण फ्रायड थप कमजोर बने।
पीडा सहन नसक्ने भएपछि फ्रायडले चिकित्सकसँग इच्छा मृत्युको चाहना व्यक्त गरे। उनका चिकित्सकले फ्रायडलाई बढी डोजको औषधि दिए। उनको ८३ वर्षको उमेरमा मृत्यु भयो। फ्रायडको इच्छामृत्युले विश्वमा ‘राइट टु डाइ’ को बहस सुरु गरेको थियो।
फ्रायडले व्याख्या गरेको सिद्धान्तलाई टेकेर नै हाल मानसिक रोगको उपचार गरिन्छ। उनका विचार र सिद्धान्त आज पनि मानसिक रोगको उपचारमा प्रयोग गरिन्छ।
Shares

प्रतिक्रिया