रुकुम पश्चिमको बाफिकोट गाउँपालिकास्थित पिपलडाँडा-मेलगौरी सडक निर्माणमा भ्रष्टाचार भएको भन्दै दायर भएको मुद्दामा विशेष अदालत, काठमाडौँले सबै प्रतिवादीलाई सफाई दिएको छ।
सोमबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सबै प्रतिवादीलाई सफाइ दिएको हो। अदालतले भनेको छ, ‘प्रतिवादीहरू दुर्गबहादुर ओली, दलबहादुर ओली, महेन्द्र शर्मा, शान्तबहादुर बस्नेत र मालिका बस्नेत निर्माण सेवाले आरोप दाबीबाट सफाई पाउने ठहर्छ।’
पिपलडाँडी-मेलगौरी सडकमा २१ लाख ६३ हजार ८६५ रुपैयाँ ४४ पैसा बढी भुक्तानी गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो। अख्तियारले दुई हजार ९ सय मिटर सडक निर्माण भएको दाबी गरेको थियो।
तर, निर्माण व्यवसायी लगायतका प्रतिवादीले अदालतमा तीन हजार ७ सय मिटर सडक निर्माण गरेको दाबी गरेका थिए। त्यसपछि विशेष अदालतले जिल्ला अदालत, रुकुम पश्चिममार्फत नापजाँच गरेको थियो। जसमा तीन हजार ७ सय मिटर सडक निर्माण गरिएको पाइएको अदालतको संक्षिप्त आदेशमा उल्लेख गरिएको छ।
प्राविधिक नापजाँचबाट अख्तियारको दाबी पुष्टि नभएको विशेष अदालतको फैसलामा भनिएको छ। जसले गर्दा सबै प्रतिवादीलाई सफाई दिने फैसला गरिएको जनाएको छ।
Shares

प्रतिक्रिया