सत्यनारायण साफी! सत्यनारायण साफी!
जब स्टेजबाट उनको उद्घोष भयो, सत्यनारायणको मुटुको धड्कन तेज हुन थाल्यो। डरले आँत थर्थराउन थाल्यो। आँखाबाट आँसु खस्न थाले।
सत्यनारायण आँसु लुकाउँदै स्टेजमा पुगे। वर्षौँअघि देखेको सपनाको कोट उनको अगाडि थियो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा श्याम लम्साल, निमित्त डिन प्राडा रमेश कँडेल र अस्पताल निर्देशक प्राडा जनार्दन पन्थीले उनलाई संयुक्त रूपमा सेतो एप्रोन लगाइदिए।
सत्यनारायण आँसु थाम्न सकेनन्। उनी आँसु पुछ्दै स्टेजबाट तल झरे।
आँसु थामियोस् पनि कसरी! चरम गरिबीमा हुर्किइकन सत्यनारायणको डाक्टर बन्ने अठोट पूरा भएको दिन थियो त्यो। यही दिनका लागि त उनले यति कठोर मेहनत गरेका थिए।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फागुन १५ गते ‘ह्वाइट कोट सेरेमनी’ आयोजना गरेको थियो। जहाँ यस वर्ष एमबीबीएस पढ्न भर्ना भएका ५० नयाँ विद्यार्थीलाई सेतो एप्रोन बाँडियो। तिनै ५० नयाँ विद्यार्थीमध्ये एक थिए– सिरहाको बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका सत्यनारायण।
‘वर्षौँअघि आँखामै बसेको कोट लगाउन पाउँदा निकै भावुक भएको थिएँ,’ उनी खुसी हुँदै सुनाउँछन्, ‘कोट लगाउँदा आँसु रोक्न सकिनँ, त्यो दिन मेरो लागि संसार जितेजस्तो थियो।’
एकपटक आमालाई टाउको सम्बन्धी समस्या भएर अस्पताल लैजाँदा सेतो कोटसँग सत्यनारायणको लगाव सुरु भएको थियो। त्यति बेला उनी कक्षा ९ मा पढ्थे।
सेतो कोट लगाएका चिकित्सकले आमालाई जाँचेको उनी सँगै बसेर हेर्थे। उनको ध्यान चिकित्सकले आमालाई कसरी उपचार गर्छन् भन्नेमा हुन्थ्यो।
सत्यनारायणको त्यो सपना ७ वर्षपछि पूरा भएको छ। तर, यो सपना पूरा गर्न उनले निकै कठिन बाटो पार गरेका छन्।

मजदुरीदेखि सेतो कोट पहिरिने दिनसम्मको यात्रा
श्रीपुर गाउँको दलित समुदायमा जन्मिएका सत्यनारायण सानैदेखि पढाइमा अब्बल थिए। उनी कक्षामा जहिले पनि प्रथम हुन्थे। तर उनको घरको आर्थिक अवस्था भने निकै कमजोर थियो। आमा, बुवा, दुई दाजुभाइ र तीन बहिनी रहेको उनको परिवारमा बिहानबेलुकाको छाक टार्नै मुस्किल थियो।
जीविकोपार्जनमै समस्या भएपछि सत्यनारायणका बुवा वैदेशिक रोजगारीमा कतार गए। बुवा कतार गएपछि भने उनको परिवारमा केही सहज हुन थालेको थियो।
सत्यनारायणकी आमा सुनितालाई टाउको दुख्ने समस्याले पिरोल्न थालेको थियो। सत्यनारायण आमालाई लिएर अस्पताल जान्थे।
आमालाई चिकित्सकले स्नायु सम्बन्धी समस्या भएको बताए। चिकित्सकले बिरामी जाँचेको, रोग पत्ता लगाएको देखेर उनी निकै उत्साहित हुन्थे। तर आमालाई धेरै पटक अस्पताल लैजाँदा पनि निको नभएकोमा भने उनी आजित थिए। त्यसै समय उनले चिकित्सक बन्ने अठोट लिए।
उनलाई सो समयसम्म चिकित्सक बन्न एमबीबीएस पढ्नुपर्छ, चिकित्सक बन्न धेरै पैसा चाहिन्छ भन्ने थाहा थिएन। तर उनी भविष्यमा चिकित्सक बन्ने अठोटले रातदिन पढ्न थाले।
२०७७ सालमा एसईईमा ३ दशमलव ९ जीपीए ल्याए।
एसईईमा राम्रो अंक आएपछि हौसिएका उनले २०७९ मा विराटनगरको अरनिको स्कुलबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरे।
धेरैले उनलाई चिकित्सक बन्न प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने र त्यसका लागि काठमाडौँ गएर पढ्नुपर्छ भन्न थाले। उनले प्रवेश परीक्षामा अगाडि नाम निकाले छात्रवृत्तिमा पढ्न पाइन्छ भन्ने पनि थाहा पाए।
सत्यनारायणले छात्रवृत्तिमा नै पढ्ने अठोट गरे। सो समय सत्यनारायणका बुवा कतारबाट नेपाल फर्किए। बुवा घर फर्केर मजदुरी गर्न थालेका थिए।
कक्षा १२ उत्तीर्ण गरेर बसेका सत्यनारायण बुवालाई चिकित्सक बन्न काठमाडौँ जान्छु भन्न थाले। बुवाले आर्थिक अवस्थाका कारण अब पढाउन सक्दिनँ भन्दै असहमति जनाए।
तर ढिपी गरेर उनी एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्न काठमाडौँ आए।
काठमाडौँ उनले सोचे जस्तो सजिलो भएन। केही समय बसे। कुनै काम नपाएपछि सत्यनारायण घर नै फर्किए।
त्यसपछि आमाबुबासँगै गाउँमै निर्माण क्षेत्रमा मजदुरी गर्न थाले। तर उनले आफ्नो सपना जिउँदै राखेका थिए। मजदुरी गरेरै रकम जुटाउन थाले।
‘बिहान ८ बजे काममा जान्थेँ, कहिले टिफिन लिएर जान्थेँ, कहिले घरमै आएर खान्थेँ। कामबाट ५ बजे फर्किन्थेँ। घरको काम सकेर साँझ ६ बजेदेखि राति १२–१ बजेसम्म ६–७ घण्टा पढ्थेँ,’ सत्यनारायण भन्छन्, ‘काम गरे पनि खासमा पढाइ मेरो प्राथमिकतामा हुन्थ्यो, किनकि पढ्नकै लागि काम गरिरहेको थिएँ।’
मजदुरीबाट आएको पैसाले किताब किनेर स्वअध्ययन थाले।

चिकित्सा शिक्षा जस्तो मुस्किल भनिने परीक्षाको तयारी उनले त्यसैगरी घरैमा गरे। अन्ततः उनको मेहनत खेर गएन।
चिकित्सा शिक्षा आयोगले गत १५ कात्तिकमा लिएको एमबीबीएस प्रवेश परीक्षामा उनी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए। मेरिट लिस्ट अनुसार उनले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्न पाए।
चिकित्सा शिक्षाको प्रवेश परीक्षामा नाम निस्किएको पनि उनले केही दिनपछि मात्र थाहा पाएका थिए।
‘आफन्तको सडक दुर्घटनामा मृत्यु भएपछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज गएको थिएँ। त्यो दिन मेरो मोबाइल पनि बिग्रिएको थियो। नतिजा आएको थाहा पाएको थिइनँ,’ उनी भन्छन्, ‘केही दिनपछि प्रवेश परीक्षामा छात्रवृत्तिमा नाम निस्किएको थाहा पाएँ।’
‘त्यो दिन त विश्वास गर्न गाह्रो भएको थियो,’ उनी सम्झिन्छन्, ‘आफैँले प्रवेश परीक्षाको तयारी गरेर पनि नाम निस्किएको थियो। मजदुरी गर्दै–गर्दै पढेको पढाइले चिकित्सक बन्न सकिन्छ भन्ने सोचेको थिइनँ। तर मेहनत गरे एक दिन सफल भइन्छ भन्ने आफैमा विश्वास जाग्यो।’
छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाएपछि भर्ना गर्न तत्काल ६४ हजार रूपैयाँ लाग्ने भयो। प्रवेश परीक्षा पास भएको थाहा पाएपछि आमा सुनिताले तत्काल छिमेकीसँग ८० हजार सापटी लिएर उनलाई दिइन्।
सत्यनारायण पुस ८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भर्ना भएका थिए। छात्रवृत्ति पाए पनि पढाइ शुल्कबाहेक बसोबास, खानपान, यातायात, पढाइ सामग्रीमा ठूलो खर्च लाग्छ भन्ने थाहा पाएर उनको परिवार पुनः समस्यामा परेको थियो। तर, सत्यनारायणको सपनामा धेरैले साथ दिए। उनले केही रकम जम्मा गरेका छन्।
अहिले सत्यनारायण चिकित्सक बन्ने सपना पूरा गर्न दाङ पुगेका छन्।
Shares

प्रतिक्रिया