मध्यपूर्वमा देखिएको तनावका कारण स्थगित भएको नेपाल एयरआइन्सको दुबई उडान फेरि सञ्चालन हुने भएको छ।
नेपाल एयरलाइन्सले बुधबार सूचना जारी गरी फागुन २९ गते विशेष उडान हुन लागेको जनाएको छ। नेपाल एयरलाइन्सले मार्च १३ अर्थात फागुन २९ गते राति २३ः१५ बजे काठमाडौँ-दुबई उडान गर्न लागेको हो।
त्यस्तै, भोलिपल्ट दुबई-काठमाडौँ उडान हुने जनाएको छ। यूएईको समयअनुसार, मार्च १४ मा बिहान ४ः१० बजे दुबई-काठमाडौँ उडान हुने नेपाल एयरलाइन्सको सूचनामा उल्लेख छ।
यो उडानमा पहिले टिकट काटिसकेका यात्रुले यात्रा गर्न पाउनेछन्। सूचनामा २८ फेब्रुअरीदेखि १३ मार्चसम्म टिकट लिई उडान गर्न असमर्थ रहेका र १३ मार्चमा यात्रा गर्न चाहने यात्रुले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा टिकट पुनः प्रमाणिकरण गर्न भनिएको छ। निगमबाट टिकट पुनःप्रमाणिकरण गरिएका यात्रुले मात्रै विमानस्थल जान आग्रह गरिएको छ।
नेपालबाट दुबई यात्रा गर्न चाहने यात्रुले निगमको अन्तर्राष्ट्रिय बिक्री कक्षमा कार्यालय समयभित्र टिकट प्रमाणीकरणका लागि सम्पर्क गर्न पनि सूचनामा अनुरोध गरिएको छ।
सूचनामा जहाजको सिटको उपलब्धताअनुसार, पहिलो सम्पर्क गर्ने यात्रुलाई पहिलो प्राथमिकता दिई टिकट उपलब्ध गराइने जनाइएको छ। मध्यपूर्वको तनावका कारण उडान रद्द हुने भएमा यात्रुको कुनै पनि आर्थिक तथा अन्य उत्तरदायित्व वहन नगरिने नेपाल एयरलाइन्सले जनाएको छ।

Shares

प्रतिक्रिया