जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (शुक्रबार बिहान) बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।
यस क्रममा दिउँसो कोसी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ। मधेसलगायत बागमती, गण्डकी र लुम्बनी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।
‘तर हिजोभन्दा कमै वर्षा हुने देखिएको छ’, उनले नेपालखबरसँग भनिन्।
यस्तै राति कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।
यस क्रममा राति कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।
मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् नेपालमा यतिबेला एकसाथ तीन मौसम प्रणालीको प्रभाव छ।

Shares

प्रतिक्रिया