मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ।
हुरी बतासका कारण ललितपुरको भैँसेपाटीमा रुख ढलेर अवरुद्ध भएको बाटो खुलाइएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
हुरीले सातदोबाटोस्थित सेल्सबेरीको बोर्ड नै ढालेको प्रहरीले जनाएको छ। सो क्षेत्रमा मानवीय क्षति भने भएको छैन।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा काठमाडौँमा ९.२, ललितपुरमा सात र भक्तपुरमा ३.४ मिलीमिटर वर्षा भएको छ।
यस्तै, सोमबार सबैभन्दा बढी धनकुटामा ३६.२ मिलीमिटर वर्षा भएको छ। पाल्पामा २४.८ र गुल्मीमा ९.२, तनहुँमा १० मिलीमिटर वर्षा भएको छ।
सुदूरपश्चिम र कर्णालीमा छिटफुट वर्षा भएको छ भने अन्य प्रदेशका धेरै जिल्लामा वर्षा भएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले विस्तारै मौसम सुधारको क्रममा रहेको जानकारी दिँदै आज पनि ठाउँठाउँमा बदली रहने बताए।
Shares

प्रतिक्रिया