समाज


प्रदीप अधिकारीलाई प्रहरीले कारागारबाट लगेर सोध्यो– भीआईपी धम्क्याउन पैसा दिएको हो?

प्रदीप अधिकारीलाई प्रहरीले कारागारबाट लगेर सोध्यो– भीआईपी धम्क्याउन पैसा दिएको हो?

नेपालखबर
चैत ६, २०८२ शुक्रबार २१:४२, काठमाडौँ

डिल्लीबजार कारागारमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका (निलम्बित) महानिर्देशक प्रदीप अधिकारीसँग प्रहरीले सोधपुछ गरेको छ।

नलिनचोक हेलिपर्ट भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अधिकारीलाई बिहीबार र शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँमा लगेर सोधपुछ गरिएको हो।

अख्तियार प्रमुख प्रेमकुमार राईसहित १० जनालाई धम्क्याउन अधिकारीले प्रकाश पाठकलाई सुपारी दिएको आरोप छ। पाठकले प्रहरीसँग सोधपुछको क्रममा आफूलाई प्रदीप अधिकारीले रकम दिएको बयान दिएका छन्। तर पाठकलाई पैसा दिएको विषयमा अधिकारीले अस्वीकार गरेका छन्। 

तर प्रहरीले उनीहरुबिचका संवाद लगायत प्रमाण पनि फेला पारेको छ।

यस विषयमा सोधपुछ लगायत अनुसन्धान भइरहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। 

प्रकाश पाठकलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा माघ २८ गते फिलिपिन्सबाट पक्राउ गरेर नेपाल ल्याएको थियो।

अधिकारीलाई कारागार पुर्‍याउने नलिनचोक हेलिपोर्टकै भ्रष्टाचार मुद्दा अगाडि बढाएपछि अख्तियार प्रमुख राईलाई पाठकले धम्क्याएका थिए। 

यसरी धम्क्याउँदै उनले पत्र पठाएका थिए भने भिडिओ पनि सार्वजनिक गरेका थिए। तर यसरी धम्क्याउँदा अधिकारीले पाठकलाई २ करोड दिएको दाबी प्रहरीको छ।

एसपी भट्टराईले भने अनुसन्धान भइरहेकाले अहिले यस विषयमा बोल्न नमिल्ने बताए। 

पाठकविरुद्ध प्रहरीले आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। यी कसुरमा अधिकारीलाई पनि प्रतिवादी बनाउने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad