समाज


कमान्डरसहित खक्रौला गुल्मका सशस्त्र प्रहरी हेडक्वाटर तानिए

कमान्डरसहित खक्रौला गुल्मका सशस्त्र प्रहरी हेडक्वाटर तानिए

नेपालखबर
चैत ७, २०८२ शनिबार १८:२३, काठमाडौँ

तस्करीमा संलग्न समूहले गुल्मभित्रै प्रवेश गरेर आक्रमण गरेको घटनाको छानिबनका लागि कमान्डरसहित कैलालीको खक्रौला गुल्मका सशस्त्र प्रहरीलाई हेटक्वाटर तानिएको छ। 

भारतबाट अवैध रुपमा ल्याइएको सामान समातेको विषयमा विवाद उत्पन्न भएपछि त्यसमा संलग्न समूह चैत ४ गते कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्मभित्र प्रवेश गरेको थियो। उनीहरूले सशस्त्र प्रहरीका गुल्मपति डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेका थिए। 

त्यसलाई लिएर सशस्त्र प्रहरी मुख्यालयले छानबिन सुरु गरेको छ। घटनाको छानबिन र युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि कारबाहीको लागि गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) पौडेलसहितका सशस्त्र प्रहरीलाई काठमाडौँस्थित प्रधान कार्यालय झिकाइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

तस्करीमा संलग्न समूहले अनाधिकृत रुपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दा समेत बल प्रयोग नगरेको तथा युनिटको आवश्यक सुरक्षा अपनाएको नदेखिएपछि उनीहरूलाई प्रधान कार्यालय झिकाइएको सह–प्रवक्ता थापाको भनाइ छ। 

कार्यालयभित्र छिरेर कमान्डरमाथि हातपातको प्रयास हुँदा समेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भिर रुपमा छानबिन थालेको जनाएको छ। तस्करी रोक्न बिगतदेखि नै उत्कृष्ट कार्य गर्दै आएका डीएसपी पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भए पनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपु¥याइएको प्रधान कार्यालयको ठहर छ। 

यस घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं. ४३ रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। सशस्त्र प्रहरीको टोली मुख्यालय तानिएपछि अहिले सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट टोली बदली गरिएको सहप्रवक्ता थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad