विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
रूपन्देही, कञ्चनपुर र मोरङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो।
रुपन्देहीको मायादेवी गाउँपालिका-५ गुरबनियामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
लु.६२ प ६७ नम्बरको मोटरसाइकललाई लु.१ प १५ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मी छात्रकोट गाउँपालिका-४ हर्डिनेटा बस्ने ६० वर्षीय हरि प्रसाद पन्तको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-५ बनगाउँमा युके ०६ बीएन २८२९ नम्बरको कारको ठक्करबाट साइकलयात्रीकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६५ वर्षीय मोहन शाही छन्।
शनिबार राति कारको ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि मोरङको रंगेली नगरपालिका-७ पोखरी टोलमा बीआर ३८ एओ १७५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रंगेली नगरपालिका-५ बस्ने २१ वर्षीय सन्जु मण्डल रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया