जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएकोमा अब सात दिनसम्मको पूर्वानुमान गर्ने तयारी भइरहेको जनाएको छ।
सोमबार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ मौसम विज्ञ राजु प्रधानांगले मौसमजन्य विपदबाट हुने धनजनको क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमानलाई थप भरपर्दो र प्रविधिमैत्री बनाउनुपर्ने बताए। पूर्वानुमानको शुद्धताका लागि अवलोकनका तथ्यांकहरू गुणस्तरीय हुनुपर्ने प्रधानांगको भनाइ थियो।
नेपालमा हरेक वर्ष भारी वर्षा, हावाहुरी, असिना र डढेलो जस्ता मौसमी प्रकोपले ठूलो क्षति पु¥याइरहेको उनले उल्लेख गरे। विभागले हाल भूउपग्रह (स्याटेलाइट), राडार, रेडियोसोण्ड र जमिनमा आधारित मौसम केन्द्रहरूबाट तथ्यांक संकलन गरिरहेको जानकारी दिए।
उनका अनुसार, हाल विभागले ‘न्युमेरिकल वेदर मोडलिङ’ मार्फत तीन दिनसम्मको पूर्वानुमान नियमित रूपमा जारी गर्दै आएको छ। यो तथ्यांक सडक विभाग, खानी तथा भूगर्भ विभाग र कृषि सूचना तथा तालिम केन्द्र जस्ता निकायलाई पूर्वतयारी र निर्णय प्रक्रियाका लागि उपलब्ध गराइँदै आएको छ।
त्यस्तै, पर्वतारोहण, हवाई उड्डयन, कृषि र शहरी क्षेत्रका लागि विशेष पूर्वानुमान सेवाहरू प्रदान भइरहेको उनले बताए। विशेषगरी हवाई मौसम सेवालाई डिजिटाइज गरिएको र २१ वटा स्थानीय तहका लागि ‘प्रभावमा आधारित पूर्वानुमान’ सुरु गरिएको प्रधानांगले जानकारी दिए।
सन् २०१० पछि नेपालको मौसमसम्बन्धी प्रविधिमा उल्लेख्य सुधार आएको चर्चा गर्दै उनलेले आगामी दिनमा सात दिनसम्मको पूर्वानुमान गर्ने प्रणाली विकास गरिने बताए। मौसमसम्बन्धी जानकारी सजिलै उपलब्ध गराउन मोबाइल एप सञ्चालनमा ल्याउने र आफ्नै ‘डिसिजन सपोर्ट सिस्टम’ बनाउने तयारी भइरहेको उनले जानकारी दिए।
त्यस्तै, विभागका प्राविधिक रामविकेश रायले नेपालको जलविज्ञान (हाइड्रोलोजी) क्षेत्रमा अवलोकनदेखि सेवा प्रवाहसम्म महत्त्वपूर्ण कार्य भइरहेको भए पनि प्रविधि र बजेटको अभाव मुख्य चुनौतीका रूपमा रहेको बताए। विभागले जलविज्ञान र मौसम विज्ञानका दुवै पक्षलाई समेटेर सेवा प्रदान गरिरहेको रायले जानकारी दिए।
उनका अनुसार हाल देशभर २३० वटा जलस्तर मापन केन्द्रहरू रहेका छन्, जसमध्ये २०६ वटा स्वचालित भइसकेका छन्। विभागले राडार लेभल सेन्सर, स्टाफ गेज र डिस्चार्ज मापनमार्फत तथ्याङ्क सङ्कलन गर्दै आएको छ।
विभागले मुख्य गरी तीन प्रकारका जलवैज्ञानिक सेवाहरू प्रदान गरिरहेको उनले बताए। जलविद्युत आयोजनाहरूको क्षमता गणना, विश्वविद्यालयका विद्यार्थीको अनुसन्धान र बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबीका लागि आवश्यक तथ्याङ्क प्रमाणीकरण गर्ने काम विभागले गर्दै आएको रायले जानकारी दिए।
उनका अनुसार, वास्तविक समयको जलस्तर, वर्षा र माटोको चिस्यानलाई आधार मानी विभिन्न मोडेलमार्फत बाढीको पूर्वानुमान गरिन्छ। नारायणी बेसिनको क्षेत्रमा बाढी पूर्वानुमान करिब ९० प्रतिशतसम्म मिल्ने गरेको छ।
च्छोरोल्पा र इम्जा हिमतालमा ‘अर्ली वार्निङ सिस्टम’ जडान भइसकेको र आगामी दिनमा जीसीएफ प्रोजेक्टमार्फत थप चार वटा हिमतालमा यस्तो प्रणाली विकास गर्ने योजना रहेको रायले बताए। तर अपर्याप्त प्रविधि र कठिन भूगोल प्रमुख समस्याका रूपमा रहेको उनले औंल्याए।
Shares

प्रतिक्रिया