समाज


एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

नेपालखबर
चैत १६, २०८२ सोमबार ५:०, काठमाडौँ

नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोपमा नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मा पक्राउ परेकी छन्। 

गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो।

शर्मा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले पनि आइतबार राती करिब ११ बजे उनी पक्राउ परेको जानकारी दिए। 

डेढ एक वर्षअघि नै शर्मामाथि घरमा बाल श्रमिक राखेर श्रम शोषण गरेको आरोप लागेको थियो। ६ वर्षदेखि शर्माले घरमा एक बालिकालाई कामदारको रुपमा राखेर कुटपिटसहित श्रमशोषण गरेको आरोप थियो। 

ती बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताइएकी थिइन्। उनको अवस्था पनि खराब देखिएपछि त्यतिबेला काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट ती बालिकाको उद्धार गरेको थियो। 

त्यतिबेला शर्माविरुद्धको जाहेरीमा सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो। जतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। 

शर्मामाथि मुद्दा नचलाउने सरकारी वकीलको निर्णयसहितको फाइल मानव अधिकार आयोगलेसमेत झिकाएको थियो। 

सत्ताको प्रभावमा परेर आफ्ना सांसदलाई उन्मुक्ति दिएकोमा विरोध भएपछि आयोगले चासो देखाएको थियो। 

त्यतिबेला काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन)ले यसबारे प्रतिक्रिया दिएका थिए। 

उनले लेखेका थिए, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउनेछ। यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ। समाज बुझ्नपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad