समाज


सडक कार्यालयले ढालेको रुख मोटरसाइकलमा बजारिँदा पत्रकार पौडेलका हातखुट्टा भाँचिए, उपचारमा बेवास्ता

सडक कार्यालयले ढालेको रुख मोटरसाइकलमा बजारिँदा पत्रकार पौडेलका हातखुट्टा भाँचिए, उपचारमा बेवास्ता

नेपालखबर
चैत १६, २०८२ सोमबार २१:२, काठमाडौँ

सडक विभागको लापर्बाहीले सर्लाहीका पत्रकार प्रेमनाथ पौडेल दुर्घटनामा  परेका छन्। 

हातखुट्टा दुवै भाँचिएर गम्भीर घाइते भएका पौडेलको यतिबेला नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, काठमाडौँमा उपचार भइरहेको छ। 

कमला–ढल्केबर–पथलैया सडक योजनाले पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा  ढालेको रुख प्रेमनाथ र उनका दाजु विश्वनाथ पौडेल सवार मोटरसाइकलमाथि बजारिँदा यो अवस्था सिर्जना भएको हो। 

घटना यही चैत ११ गते दिउँसोको हो। प्रेमनाथ र उनका दाजु विश्वनाथ सर्लाहीको हरिवन-४ सासापुरस्थित घरबाट यातायात कार्यालयको कामले महोत्तरीको बर्दिवासतर्फ जाँदै थिए।

पूर्वपश्चिम राजमार्गमा पर्ने लक्ष्मिनियाँ चोकबाट केही पूर्व उनीहरु सवार मोटरसाइकलमा अकस्मात ढल्दै गरेको रुख बजारियो। पौडेल दाजुभाइ दुवै हाइवेको पिचमा पछारिए।

‘सडक योजनाले हाइवे विस्तारको लागि त्यहाँ रुख ढालिरहेको रहेछ। त्यसको जानकारी हामीलाई गराइएन,’ पौडेलले भने, ‘हामी आफ्नै गतिमा गुडिरहेका थियौँ। अगाडि रुख ढल्दै गरेको जानकारी दिने बोर्ड अथवा आयोजनाका कमचारी कोही कर्मचारी त्यहाँ थिएनन्। यहाँ रुख ढल्दै छ, तपाईँहरु वरै रोकिनुस् भनेर कसैले हामीलाई रोकेनन्। हामी आफ्नै गतिमा मोटरसाइकमा बर्दिवासतर्फ जाँदै थियौँ, अकस्मात हामीमाथि रुख बजारिँदा यस्तो अवस्था भयो।’

रुख बजारिँदा आफूहरु मोटरसाइकलसँगै सडकमा ढलेको पौडेलले बताए। 

दुर्घटनापछि आयोजनाकै गाडीले उनीहरुलाई महोत्तरीको बर्दिवास पुर्याएको थियो। बर्दिवासस्थित जनसेवा अस्पतालमा सामान्य उपचारपछि पौडेल द्वयलाई काठमाडौँ ल्याइएको हो। 

विगत पाँच दिनदेखि प्रेमनाथको उपचार चलिरहेको छ। उनका दाजु भने उपचारपछि आइतबार घर फर्किएका छन्। 

प्रेमनाथको दाहिने हात र खुट्टा दुवै भाँचिएको छ। उनको उपचार प्रक्रिया लामो हुने चिकित्सकले बताएका छन्। आज उनको अप्रेसन गरेर भाँचिएको ठाउँ स्टिल राखेर जोडिएको छ। 

उपचार प्रक्रिया खर्चिलो हुने भए पनि अहिलेसम्म सडक आयोजनाले उपचारमा कुनै सहयोग नगरेको पौडेलले बताए। 

‘अहिलेसम्म सडक कार्यालयबाट कोही पनि हामीलाई भेट्न आउनु भएको छैन,’ उनले भने, ‘साथीहरुले बर्दिवासको कार्यालमै पुगेर ज्ञापनपत्र बुझाउनु भएको छ। पत्रकार साथीहरुको दवावपछि त्यहाँका कर्मचारीले उपचार खर्च दिन्छौँसम्म भनेका छन् रे। तर, अहिलेसम्म त्यो प्रक्रिया कहाँ पुग्यो हामीलाई जानकारी गराइएको छैन।’

पौडेल दाजुभाइको उपचारमा अहिलेसम्म तीन लाख रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ। आर्थिक अवस्था निकै कमजोर रहेका पौडेलले सबै खर्च आफन्तसँग ऋण-सापटीबाट चलाउँदै आएका छन्। 

व्यस्त सडकमा बिनाकुनै सूचना लापर्बाहीपूर्ण ढंगले सडक योजनाले रुख ढाल्दा आफू ठूलो समस्यामा परेको गुनासो पौडेलले गरे। 

यस विषयमा पत्रकार महासंघ सर्लाहीका पदाधिकारीले आइबार बर्दिवासस्थित कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) को कार्यालय गौरीडाँडा गएर ज्ञापन पत्र बुझाएका छन्। 

पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, पूर्व अध्यक्षहरु टंकबहादुर क्षेत्री, विश्वनाथ ठाकुर, महासंघका उपाध्यक्ष मुकेश झा, सचिव सोम दियाली र सह–सचिव जनार्जन खत्रीले सडक योजना कार्यालयका निमित्त कार्यालय प्रमुख इन्जिनियर रामटहल यादवलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्। 

ज्ञापनपत्र बुझ्दै यादवले पौडेल दाजुभाइको उपचारको उचित प्रबन्ध मिलाउन कन्सल्टेन्ट र ठेकेदार कम्पनिसँग समन्वय गर्ने आश्वासन दिएका छन्। 

घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय बर्दिवासमा पनि छलफल भएको महासंघका अध्यक्ष ठाकुरले बताए।  

छलफलमा लक्ष्मीनियाँ जंगल खण्डको सडक विस्तार गर्ने जिम्मेवारी पाएको रसुवा कन्ष्ट्रक्सनले पत्रकार पौडेल दाजुभाईको उपचारमा लाग्ने सबै खर्च बेहोर्ने सहमति जनाएका छन्। 

पत्रकार महासंघले पत्रकार पौडेलको परिवारको आर्थिक अवस्थासमेत निकै कमजोर रहेकाले उपचारसँगै क्षतिपूर्ति र राहत रकमकोसमेत माग गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad