समाज


शुक्लाफाँटा निकुञ्जमा १८ वटा कृष्णसार स्थानान्तरण गरिने

शुक्लाफाँटा निकुञ्जमा १८ वटा कृष्णसार स्थानान्तरण गरिने

नेपालखबर
चैत २३, २०८२ सोमबार १८:३७, काठमाडौँ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ। वन तथा वातावरण मन्त्रालयलले हाललाई छ भाले र १२ पोथी गरी जम्मा १८ वटा कृष्णसार स्थानान्तरण गर्ने भएको जनाएको छ। 

मन्त्रालयले आज विज्ञप्ति जारी गरी मन्त्रालयबाट गठित कार्यदलले पेस गरेको सम्भाव्यता र स्थलगत अध्ययन प्रतिवेदनको सिफारिस तथा विगतका सैद्धान्तिक निर्णय र स्वीकृत कार्ययोजनाका आधारमा सो निर्णय गरिएको जनाएको हो।
    
मन्त्रालयले भनेको छ, ‘कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट चितवन जिल्लाको टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्ने निर्णय भएको छ। मन्त्रालयबाट यो निर्णय भएपश्चात् विभिन्न समाचार र प्रतिक्रियाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ। लोपोन्मुख कृष्णसार विसं २०३३ मा बर्दियाको खैरापुरमा नौ वटामा सीमित भएको थियो। तत्पश्चात् प्रभावकारी संरक्षणका कारण यसको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ।’

विश्वव्यापी अभ्यास र कार्यदलको सिफारिसका आधारमा कृष्णसार स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ। नेपालमा कृष्णसारको सङ्ख्या वृद्धि गर्न विगतको दशकमा सदर चिडियाखाना र खैरापुरबाट समेत गरी ४२ वटा कृष्णसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा स्थानान्तरण गरिएको स्मरण गरिएको छ। त्यस कार्यबाट सङ्ख्या वृद्धि भई हाल खैरापुरमा समेत गरी नेपालको प्राकृतिक बासस्थानमा पाँच सयभन्दा बढी कृष्णसार पुगेको मन्त्रालयले जनाएको छ। 
    

‘कुनै पनि वन्यजन्तुलाई निश्चित क्षेत्रमा मात्र सीमित गर्दा वंशाणुगत, वातावरणीय र अप्रत्याशित अवस्था सिर्जना भई एकैचोटी प्रजाति नै लोप हुनसक्ने जोखिम रहन्छ’, विज्ञप्तिमा भनिएको छ,‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा छोटो अवधिमै कृष्णसारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुनु सोही अभ्यासको परिणाम हो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad