जाजरकोटमा बुबाको सट्टा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने छोरा र त्यसमा सहयोग गर्ने विद्यालयका लेखापालसहित तीन जना पक्राउ परेका छन्। छेडागाड नगरपालिका–१२ कार्कीगाउँस्थित नारायणी माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा आइतबार यस्तो अनौठो दृश्य देखिएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गणित विषयको परीक्षा चलिरहेका बेला एक नाबालकले आफ्नै बुबाको नाममा परीक्षा दिइरहेको 'गोप्य सूचना' प्राप्त भएको थियो। 'फुम्ना बि' नामको सांकेतिक प्रवेशपत्र प्रयोग गरेर परीक्षा दिइरहेका ती बालकलाई प्रहरीले केन्द्रमै पुगेर नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा ती नाबालकले आफ्ना बुबाको सट्टामा परीक्षा दिन आएको स्वीकार गरेका छन्।
लेखापालको 'सेटिङ'
नक्कली परीक्षार्थी खडा गर्ने र त्यसका लागि नक्कली प्रवेशपत्र बनाउन सहयोग गर्ने कार्यमा छेडागाड नगरपालिका–११ झाप्रास्थित बाल माध्यमिक विद्यालयका ४२ वर्षीय लेखापाल कालीबहादुर नेपालीको संलग्नता खुलेको छ। प्रहरीले लेखापाल नेपालीलाई आइतबार दिउँसो विद्यालय नजिकैको सडकबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक एक्कबहादुर नेपालीका अनुसार पक्राउ पर्नेमा परीक्षार्थी बालक, उनका बुबा र सहयोगी लेखापाल रहेका छन्।
पक्राउ परेकाहरूमाथि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको छ। नाबालकको हकमा जाजरकोट जिल्ला अदालतबाट पाँच दिन र उनका बुबा तथा लेखापालको हकमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
परीक्षाको मर्यादाविपरीत नक्कली परीक्षार्थी उभ्याउने र सरकारी कागजपत्र किर्ते गर्ने कार्यमा अन्यको संलग्नता रहे/नरहेको विषयमा पनि प्रहरीले सुक्ष्म अध्ययन गरिरहेको छ।
Shares

प्रतिक्रिया