समाज


कोरोना संक्रमण: नेपालका अस्पतालको क्षमता कति?

कोरोना संक्रमण: नेपालका अस्पतालको क्षमता कति?

यज्ञराज जोशी
जेठ ३, २०७७ शनिबार ८:११,

दिनदिनै कोरोना संक्रमित थपिन थालेपछि नेपालको स्वास्थ्य संरचनाले कति संख्यामा बिरामी धान्न सक्छन् भन्ने प्रश्न उठ्न थालेको छ।

यही सवाल सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसै महिना (२०२० मे) ‘कोभिड-१९ महामारीका लागि हेल्थ सेक्टर इर्मेजेन्सी रेस्पोन्स प्लान’ बनाएको छ।

उक्त प्लानको उद्देश्यमा ‘देशको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी गराउँदै नीति निर्माणमा सहयोग पुर्याउनु’ भन्ने छ। महामारीका बेला देशको स्पष्ट अवस्था थाहा भए प्रभावकारी ढंगबाट कार्य गर्न सकिने योजनामा उल्लेख छ।

गत वर्ष माघ ९ मा वुहानबाट आएका ३२ वर्षे पुरुषमा संक्रमण भेटिएपछि सरकारले कोरोना रोकथामका लागि त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गर्ने, चीन तथा भारतसँगका स्थलमार्गमा पनि स्वास्थ्य जाँच बढाउने, दुवै देशका नाका बन्द गर्नेदेखि लकडाउनसम्मका योजना कार्यान्वयनमा ल्याइसकोको छ।

तर पनि पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन तीव्र गतिमा बढ्दै जाँदा नेपालमा संक्रमितको संख्या शनिबार बिहानसम्म २ सय ७३ पुगिसकेको छ।

उपत्यकाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताललाई कोरोना विशेष अस्पताल बनाएको सरकारले लगत्तै पाटन अस्पताल र सशस्त्र प्रहरीको अस्पताललाई पनि कोरोना विशेष अस्पतालका रूपमा विकास गरेको थियो।

त्यसपछि सरकारले प्रादेशिक अस्पताल, मेडिकल कलेज, जिल्ला अस्पताल, कोरोना विशेष अस्पताललाई समेट्दै हब अस्पताल घोषणा गर्‍याे। हालसम्म यी अस्पतालमा शंकास्पद तथा संक्रमित बिरामीका लागि ३ हजार बेड छुट्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले विभिन्न अस्पतालमा फरक-फरक प्रकृतिका कोरोना संक्रमित बिरामी राख्ने भनेर पनि छुट्याएको छ। जसमा सामान्यदेखि जटिलसम्म अवस्थाका बिरामी राखिनेछन्।

सामान्य लक्षण मात्रै देखिएका बिरामीलाई लेभल वानका अस्पतालले उपचार गर्नेछन्। त्यस्ता अस्पताल देशभर १३ वटा छन्। लेभल वान अस्पतालमा बिरामीलाई अक्सिजनको साहरा नचाहिन सक्छ। अक्सिजन, आईसीयूसहित विशेषज्ञ उपचार चाहिनेलाई बिरामीलाई लेभल टुका अस्पतालमा राखिनेछ। यस्ता अस्पताल देशभर १२ वटा छन्। एकदमै जटिल तथा दीर्घरोगीलाई आईसीयू, भेन्टिलेटरसहितको अस्पतालमा राखिनेछ। यस्ता अस्पताल देशभर ३ वटा मात्रै छन्।

मन्त्रालयको तथ्यांकअनुसार कोरोनाविरुद्ध लड्न नेपालका सरकारी र निजी अस्पतालमा २६ हजार ९ सय ३० बेड छन्। यस्तै जटिल केसका बिरामीलाई आवश्यक पर्ने आईसीयू बेड संख्या १ हजार ५९५, भेन्टिलेटर ८४० वटा छन्। यस्तै देशमा आईसीयू व्यवस्थासहितका अस्पतालको संख्या १ सय ९४ छन्।

सरकारले ५ हजार देखि १० हजारसम्म कोरोना संक्रमित देखिए ८ हजारलाई आइसोलेसन बेड, १५ सयलाई अक्सिजन सपोर्ट, आईसीयू ५०० जनालाई आवश्यक पर्ने सक्ने अनुमान गरेको छ।

त्यसअनुसार हाललाई नेपालको स्वास्थ्य पूर्वाधारले धान्ने र सरकारले आवश्यकताअनुसार थप विकल्प खोजिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटा बताउँछन्।

‘कोरोना रोकथाम तथा उपचारका लागि सरकार सचेत तथा सजग छ,’ उनले भने, ‘अहिलेको तयारी पर्याप्त छ र आवश्यकताअनुसार सरकारले व्यवस्था गर्नेछ।’

देशमा ५ जना संक्रमित भेटिसकेको र भारतबाट सबैभन्दा बढी मानिस भित्रिने सुदूरपश्चिम प्रदेशको स्वास्थ्य पूर्वाधारको अवस्था भने अत्यन्त नाजुक छ। जहाँ जम्मा १४ वटा मात्रै आइैसीयू बेड छन्। तीमध्ये १० कैलाली र ४ कञ्चनपुरमा छन् भने बाँकी ७ पाहाडी जिल्लामा एउटा पनि आईसीयूू बेड छैन। प्रदेशका १५ अस्पतालमा जम्मा १६३ वटा मात्रै आइसोलेसन बेड छन्।

यस्तै त्यसअघि नै वीरगन्ज र बुटवलका कोरोना विशेष अस्पताल भरिएर थप बिरामीलाई अस्पताल बाहिरै राख्नुपर्ने अवस्था छ। वीरगन्जको नारायणीमा ७० बेडको आइसोलेसन भरिएपछि १९ संक्रमितलाई नजिकैको सिद्धार्थ स्कुलमा बनाइएको आइसोलेसनमा राखिएको छ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पताल भरिएकाले बाँकीलाई अन्यत्र राख्नुको विकल्प नभएको बताए।

‘संक्रमितको संख्या दैनिक बढ्न थालेपछि आइसोलेसनको अभाव हुन लागिसक्यो। सरकारले चाँडो थप व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘सामान्य लक्षण देखिएकालाई अस्पताल भर्ना नगरी घरमै राखेर उपचार गराउने तर्फ पनि सरकारले सोच्नुपर्छ।’

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भने संक्रमितमध्ये ३ प्रतिशतलाई मात्रै अस्पतालको सेवा चाहिने भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन्।

‘संक्रमण देखिएका सबै मान्छेलाई अस्पताल ल्याउनु पर्दैन। तीन प्रतिशत मान्छेका लागि सहयोग चाहिने हो। हामी त्यसका लागि तयारी अवस्थामा छौं,’ डा. कार्कीले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ भने उसलाई अस्पताल बाहिरै आइसोलेसनमा राखेर उपचारको व्यवस्था गरिनेछ।’

मन्त्रालयकै तथ्यांकअनुसार ७ प्रदेशमा हाल आइसोलेसन बेडको संख्या ३ हजार २ सय ९४ मात्रै छ। जसअनुसार प्रदेश १ मा ४४९, प्रदेश २ मा ३९८, बागमती प्रदेशमा ९७५, गण्डकी प्रदेशमा २३५, प्रदेश ५ मा ५३४, कर्णाली प्रदेशमा ५४० र सुदूरपश्चिममा १६३ वटा मात्रै आइसोलेसन बेड छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad