जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ भने यतिबेला (शनिबार बिहान) पहाडी र हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ र तराईमा मौसम मुख्यतया सफा छ।
मौसम महाशाखाका मौसमविद् बिन महर्जनका अनुसार काठमाडौँ उपत्यकामा पनि मौसम अहिले मुख्यतया सफा छ।
‘तर दिउँसो उपत्यकाको आकाशमा आंशिक बादल लाग्ने सम्भावना छ’, उनले नेपालखबरसँग भनिन्, ‘काठमाडौँ उपत्यकामा आज पानी पर्ने सम्भावना भने एकदमै न्यून छ।’
मौसमविद् महर्जनका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकामा हल्का तुवाँलो देखिएको छ भने भिजिबिलिटी (पारदर्शिता) ५ किलोमिटर छ।
देशभरका लागि मौसम महाशाखाले गरेको मौसम प्रक्षेपण भने यस्तो छ:
दिउँसो : कोसी प्रदेशका पहाडी र हिमाली भेगसहित देशका हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्ने, पहाडी भेग तथा कोसी प्रदेशको तराईमा आंशिक बादल देखिनेछ र बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान, बाँकी हिमाली भूभाग तथा कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हुरीको समेत सम्भावना छ।
राति : देशका हिमाली भेगमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभाग र कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

Shares

प्रतिक्रिया