बिहीबार साँझ जब थापाथलीस्थित बागमती किनारको सुकुमवासी बस्तीमा सरकारी माइक करायो, तब त्यहाँका धेरै परिवारको भोकतिर्खा हरायो। राति निद्रा पनि परेन।
शनिबार बिहानैदेखि बस्तीमा डोजर लगाउने सूचना आएपछि २० वर्षदेखि खोला किनारमा आफ्नो परिवार बसाएका मान्छेहरूको मनमा अहिले ढ्यांग्रो ठोकिएको छ।
शुक्रबार बिहानैदेखि बस्तीका बासिन्दा नयाँ बासको खोजीमा लागेका थिए।
बाहिरबाट प्रहरी, मिडिया र जेन–जी अगुवाहरू पुगेका थिए।
बस्तीका मान्छेहरू समूह–समूह बनाएर ‘के गर्ने’ भन्दै सल्लाह गरिरहेका थिए।
सोही क्रममा एक महिलाले अलि चर्को स्वर गरिन्, ‘दुईतीन लिटर पेट्रोल किनेर डोजर नै आगो लगाइदिनु पर्छ जस्तो छ।’
अर्की महिलाले उनलाई तान्दै सतर्क गराइन्, ‘मिडियाले खिच्ला, सानो स्वरले भन।’
बस्तीका दुःखी, त्रसित, निराश, आक्रोशित मान्छेलाई एउटै प्रश्नले घोचिरहेको थियो, ‘भोलि कहाँ जाने?’
बस्तीको एउटा सानो झुपडीको ढोकामा ढोकामा ७९ वर्षीया वृद्धा टोलाइरहेकी छन्। २२ वर्षअघि दोलखाबाट यो ठाउँमा आएकी उनको स्वरमा कहिले निराशा सुनिन्छ, कहिले आक्रोश।
तर, सरकारले लैजाने हाउजिङमा नजाने अडानमा उनी छिन्।
‘हामीलाई चाहिएको छैन कसैको हाउजिङ–साउजिङ। मारे मर्नी, के गर्नी, उसैले गर्छ,’ उनी भन्छिन्।
जमिन हुँदाहुँदै खोलाको किनार ओगटेको बसेको आरोपप्रति उनको दुखेसो छ।
सानो स्वरमा दिक्क मान्दै भन्छिन्, ‘आफ्नो जग्गा–जमिन भएको भए यो गनाउने बागमती सुँघेर बस्न कसलाई रहर थियो र?’
छोराहरू कामको सिलसिलामा बाहिर गएका र नातिहरू साना भएकाले सामान कसरी पोको पार्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ।
उनी दृढ सुनिन्छिन्, ‘घर भत्काओस् कि राखोस्, म चाहिँ कतै जान्नँ।’
दिन–रात दुःख गरेर दुई–चार पैसा जोडेर बनाएको सानो टहरो पनि छोड्नु पर्दा उनलाई साह्रै नराम्रो लागेको छ।

सोही बस्तीका अर्का बासिन्दा नवराज ठटाल प्रधानमन्त्री बालेन्द्र शाहका खरो समर्थक हुन्। शाहले गर्ने हरेक काम देशको हितका लागि हुन्छ भन्ने उनलाई लाग्छ। तर सुकुमवासी बस्तीसँग कुनै पनि किसिमको सरसल्लाह र कुराकानी नगरी बस्ती भत्काउने निर्णयप्रति भने चित्त दुखाएका छन्।
‘उहाँहरूले भत्काउने भनेर जुन सूचना दिनु भएको छ, त्यो सूचना दिनुभन्दा पहिले उहाँहरूले हामीलाई ल तपाईंहरू यो ठाउँमा बस्नुस् है, तपाईंहरूको लागि व्यवस्था गरिएको ठाउँ यो हो भनेर हामीलाई त्यो ठाउँमा लगेर पहिल्यै ट्रान्सफर गराइदिनु भएको भए यो घर भत्काउनको लागि उहाँहरूले डोजर, प्रहरी बल केही पनि चाहिँदैन थियो,’ नवराजले नेपालखबरसँग भने, ‘हामीलाई पहिले व्यवस्थित गरिदिनु पथ्र्यो।’
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आफूहरूलाई जुन भवनमा लैजान प्रयास गरिएको थियो, अहिलेको सरकारले पनि त्यहीँ लैजान खोजेको भनाइ छ।
‘तर, त्यतिबेला त्यहाँका स्थानीयले आन्दोलन गरेर हामीलाई स्वीकारेनन्। हामीलाई अरु समाजले स्वीकार्दैन,’ ठटालले भने।
उनी थापाथलीको सुकुमवासीमा बस्न थालेको १८ वर्षभन्दा बढी समय भइसकेको छ। नवराजको पुर्खा खोटाङको भए पनि उनका बुवा सानै हुँदा घरबाट निकालिएपछि रोजगारीको सिलसिलामा भौँतारिएका थिए। पछि आफन्तकै सरसल्लाहमा सुकुमवासी बस्तीमा बसे।
सविना मगर विगत २० वर्षदेखि सुकुमवासी बस्तीमा बस्दै आएकी छिन्। श्रीमानले अर्कै श्रीमती ल्याएर छोडेपछि दुई सन्तान च्यापेर माइतीको शरणमा आएकी थिइन्।
बस्ती उठाउने कुरा सुनेपछि आँखा झिमिक्क नगरी रात बिताएको सविनाले सुनाइन्।
‘माइकिङ गरेपछि त डर लागेको छ। राति नै आएर डोजर पो लगाइदिने हो कि भन्ने डरले सुत्नै सकेनौँ,’ उनी भन्छिन्, ‘दुःख गरेर खाने दुई–चार वटा भाँडा–कुँडा छन्। त्यसमा पनि डोजर लगाइदियो भने के गर्ने नि अनि?’
गणेश सिंह घलान पनि विगत २० वर्षदेखि सुकुमवासी बस्तीमा नै बस्दै आएका छन्।
‘सर भन्नेबित्तिकै हामी कहाँ सर्नु?’ घलानले नेपालखबरसँग भने, ‘आज सरिहाल भन्नेबित्तिकै हामीलाई कसले काठमाडौँमा कोठा दिन्छ र?’
गणेश दुई छोरी, एउटा छोरा र श्रीमतीसँगै सुकुमवासी बस्तीमा बस्दै आएका छन्। घलानका बुवा उनी सानै हुँदा बितेका थिए र उनकी आमाले पनि त्यसको तीन वर्षपछि संसार छोडिन्। हेटौंडा पुख्र्यौली थलो भएका उनलाई दिदीले हुर्काएकी थिइन्। तर दिदीको विवाह भएपछि उनी एक्लै भए। विभिन्न होटलमा भाँडा माझ्दै खानाको जोहो गर्ने उनी विवाहपछि भने थापाथलीको सुकुमवासी बस्तीमा आएर टहरो हालेर बस्न थाले। गणेश ज्यामीको काम गरेर बिहान–बेलुका परिवारको छाक टार्छन्।
‘दुई दिन काम गरे तीन दिन काम पाउँदैन। सरकारले रोजगारी दिएको छैन हामी जस्तो गरिबलाई,’ उनले भने।
अहिलेको सरकारले पनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले जस्तै गरी अव्यवस्थित रूपमा आफूहरूलाई हटाउन खोजेको गणेशले दाबी गरे।
‘त्यतिबेला बाबुराम भट्टराईले के गर्ने, कस्तो गर्ने भनेर एक शब्द बोल्न सकेनन्। अहिलेको सरकारले पनि त्यस्तै गरेको छ,’ उनी भन्छन्, ‘तिमीहरूलाई यो ठाउँमा बस्न दिन्छौँ भन्नु पथ्र्यो नि।’
व्यवस्थित रूपमा एउटा कोठा मात्र दिने भए पनि आफू जान तयार रहेको उनले बताए।
सविना तामाङ झन् अन्योलमा देखिन्छिन्। श्रीमानले आफ्नै बहिनी पर्नेसँग अर्को विवाह गरेपछि ८ वर्षको छोरा र १ वर्षकी छोरी लिएर ४ हजार मासिक भाडा तिर्दै माइती नजिकै एउटा सानो टहरोमा बस्दै आएकी छिन्।
‘बुढो पनि आफूसँग छैन। कसरी सार्नु सामान, खै?’ अलमलमा देखिन्छिन् सबिना।

प्रतिक्रिया