समाज


विराटनगर जुटमिलको अनधिकृत बस्ती हटाइने

विराटनगर जुटमिलको अनधिकृत बस्ती हटाइने

नेपालखबर
बैशाख १५, २०८३ मंगलबार २२:१, काठमाडौँ

विराटनगर जुट मिलको जग्गा ओगटेर अनधिकृत रूपमा बसोबास गरिरहेकालाई आगामी एक साताभित्रमा हटाइने भएको छ। 

जुटमिलको हडताली हाट क्षेत्र, दक्षिण गेट, हरिनगरा भट्टा क्षेत्रमा अनधिकृत रूपमा बसोबास गरिरहेका परिवारलाई हटाइने भएको विराटनगर जुटमिल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीले जानकारी दिए।

जुटमिलको करिब १४ बिगाहा क्षेत्रफलमा अतिक्रमण गरी करिब छ सय घरपरिवार बसोबास गरिरहेका छन्।

यसैगरी, जुटमिलको सडक किनारा क्षेत्रमा भाडा नतिरी विगतदेखि पसल व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई समेत हटाइने भएको छ । 

सडक किनारा क्षेत्रमा भाडा नतिरी करिब ३० वटा पसल व्यवसाय सञ्चालनमा रहेको बताइएको छ।

सङ्घीय सरकारको निर्णयानुसार आगामी एक साताभित्रमा अनधिकृत रूपमा बसोबास गरिरहेका परिवारहरू र भाडा नतिरी पसल व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई हटाउने प्रक्रिया अघि बढिसकेको उहाँले बताए। 

भाडा तिरेर पसल व्यवसाय गरिरहेकाहरूलाई वैकल्पिक व्यवस्था गरिने र नतिर्नेहरूलाई प्रशासनको सहयोग लिएर असुल गरिने उहाँले बताउनुभयो। मिलको अतिक्रमित जग्गामा केही व्यक्तिहरू मिलेर गार्मेन्ट उद्योग समेत सञ्चालन गरिरहेका छन्। 

जुटमिलमा कार्यरत कर्मचारीका लागि बनाइएको आवासहरू अवकाश पछि पनि नछाड्ने र धेरै बाहिरी व्यक्तिले अतिक्रमित गरेर बसोबास गरिरहेको प्रशासन प्रमुख श्याम लामाले जानकारी दिए। 

विराटनगर जुटमिल १९९३ सालमा स्थापित नेपालको पहिलो उद्योग हो। पछिल्लो पटक २०७० सालदेखि यो बन्द छ। संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी हुनाका साथ लामो समयदेखि प्रयोगविहीन हुँदा मेसिनहरू खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad