काठमाडौँ उपत्यकामा आज (बिहीबार) पनि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले उपत्यकाको लगभग पूरा आकाश बादलले ढाकेको छ।
आज पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ', बिहीबार बिहान नेपालखबरसँग उनले भने।
अहिले पनि देशका कतिपय स्थानमा पानी परिरहेको छ।
यसैबिच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै २.५ डिग्री सेल्सियस घटेको छ।
मौसमविद् पुडासैनीका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस देखिएको हो।
यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ, त्यसबेला अहिलेभन्दा न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.४ डिग्री सेल्सियस थियो।
देशभरको समग्र मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे बुलेटिन जारी गर्छ।
Shares

प्रतिक्रिया