सरकारले शुक्रबार (१८ वैशाख) देखि काठमाडौँका नदी किनारसहित सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ।
पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती हटाएको थियो। अब दोस्रो चरणमा काठमाडौँ उपत्यकामा बागमती नदी तथा सहायक नदी किनारमा रहेका बस्ती हटाउन सुरु गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ।
सरकारले एक दिनको समय दिएर घर टहरा खाली गर्न उर्दी जारी गरेसँगै बिहीबार उपत्यकाका विभिन्न स्थानका सुकुम्बासीलाई आफ्ना सरसामान निकालेर सुरक्षित स्थानमा लैजान भ्याइनभ्याइ थियो।
बिहीबार अपरान्ह काठमाडौँको बल्खु क्षेत्र पुग्दा झमझम पानी परिरहेको थियो। तर, पानीको परबाह नगरी मानिसहरू आफ्ना सामान घर टहराबाट निकालिरहेका थिए। झरीमा रुझ्दै सामान यताउता लगिरहेको दृश्य देखिन्थ्यो। कतिपय व्यक्तिहरू भने घरटहरा भत्काएर काम लाग्ने काठपातसमेत अन्यत्रै सार्न व्यस्त थिए।
आफू वर्षौंदेखि बसिरहेको बस्ती छोड्नुपर्दा कतिपय व्यक्तिहरू भावुक देखिन्थे।
सरकारले नदी किनारका बस्तीका नागरिकलाई विवरण संकलन गर्नका लागि दशरथ रंगशाला पुर्याइने जनाएको छ। त्यहाँबाट होल्डिङ सेन्टरमा पुर्याएर सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण गरिने भएको छ। पहिचान हुन नसकेका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ।
पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरिने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ।











Shares

प्रतिक्रिया