ललितपुरका विभिन्न स्थानमा चोरीमा संलग्न तीन जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका २ सानेपास्थित डेरामा मिनु झाँको कोठाबाट १८ लाख ५० हजार बराबराको धनमाल चोरी भएको थियो।
सोही स्थानमा बस्ने वविता छिनाल परियारको डेरा कोठाबाट १५ लाख ३५ हजार रुपैयाँ बराबरको सुन चाँदीका गर–गहना, धनमाल चोरी भएको थियो।
यी घटना सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको बिशेष टोलीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको ललितपुरका प्रहरी प्रवक्ता एसपी गौतम मिश्रले बताए।
चोरीमा संलग्न सप्तरी घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका २ सानेपा खरिबोट बस्ने समिर चौधरी, चोरीका गर–गहना बिक्री गर्ने ललितपुर जिल्ला ललितपुर २ सानेपा बस्ने पूजा शर्मा जोशी र उक्त गर–गहना खरीद गरी गाल्ने काठमाडौँको न्यूरोडस्थित रहेको कृष्णा डाइमण्ड सुनचाँदी पसलका संचालक श्रवण कुमारलाई पक्राउ गरेको एसपी मिश्रले बताए।
सुनचाँदी पसल सञ्चालक श्रवण कुमार भारतीय नागरिक हुन्। चोरीका सामग्री समेत प्रहरीले बरामद गरेको छ।
७२.६८० र ५.७९० ग्रामका दुई वटा गालिएका सुन, २८.२८० ग्रामको सुनको चुरा, २.४४० ग्रामको सुनको रिङ, ७.३८० ग्रामको बाली र पेच १/१ थान, रातो पोते सहितको सुनको ठूलो तिलहरी १ थान, सुनको चन्द्रमा १ थान र २२ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।
सोमबार म्याद थप गरेर उनीहरुमाथि थप अनुसन्धान थालेको पनि एसपी मिश्रले बताए।
Shares

प्रतिक्रिया